• ४ जेठ २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन

चन्द्रागिरि नगरमा चुनावी चटारो, उम्मेदवारहरू बिहानैदेखि बेलुकासम्म चुनावी गतिविधिमा व्यस्त

blog

पंतिवद्धरूपमा रामलाल श्रेष्ठ, घनश्याम गिरी, उत्तमबहादुर राउत र सुशीला न्यौपाने

काठमाडौं, वैशाख २१ गते । वैशाख ३० नजिकिएसँगै राजनीतिक दलका स्थानीय निर्वाचनका उम्मेदवार तथा नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रमको चटारोमा छन् । आ–आफ्ना दलका उम्मेदवार जिताउने होडबाजीमा उहाँहरु बिहानैदेखि बेलुकासम्म चुनावी गतिविधिमा व्यस्त देखिनुहुन्छ ।

नेपाली काँग्रेस

काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका घनश्याम गिरीलाई पनि चुनावी प्रचार अभियानमा भ्याईनभ्याई छ । यसअघि प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएका गिरी भन्नुहुन्छ, विगतमा प्रशासनिक भवन, कर्मचारी कानुन केही पनि थिएन, शून्य अवस्थामा काम गर्नुपर्ने अवस्थाबाट परिवर्तनशील अवस्थामा पु¥याएका छौं ।

अहिले सबै विद्यालय भवन, बाटो, अस्पताल, मठमन्दिर निर्माणको काम अगाडि बढेको र कोभिड–१९ महामारी जटिलताका साथ समाधान गर्दा पनि सरकारको उत्कृष्ट काम गर्ने नगरपालिकाको रुपमा पुरस्कृत भएको उहाँ बताउनुहुन्छ ।

अब आउने नयाँ नेतृत्वलाई सिक्नै समय लाग्ने भएको हुँदा नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान निर्माणका लागि अनलाइन सिस्टमको काम अघि बढाउनुपर्ने, उत्पादन र रोजगारको सिर्जना गर्दै बेरोजगारीको समस्या हल गर्ने, पूर्णरुपमा पर्यटन, होमस्टे, रिसोर्टलगायत कमिटीलाई सुधार गर्ने र सहमति, सहकार्य र समन्वयमार्फत अझ बढी गर्व गर्न लायक नगरपालिकाको रुपमा चन्द्रागिरिलाई बनाउने उद्देश्य रहेको उहाँ बताउनुहुन्छ ।

राष्टिय जनमाेर्चा

गठबन्धनबाट उपप्रमुखमा राष्टिय जनमाेर्चाका राेशन दानीकाे उम्मेदवारी छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

गठबन्धनमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपप्रमुखमा दावी गरे पनि चुनावी तालमेलका कारण साे पद छाेड्दै वडाहरूमा एकल उम्मेदवारी  दिएकाे साे पार्टीका स्थानीय नेता रूपा महर्जन श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार गठबन्धन दलका विभिन्न पार्टीसँग वडा  नम्बर १, ३, ५, १० र १५ मा चुनावी गठबन्धन गरेकाे छ । 

नेकपा एमाले

नेकपा एमालेका उत्तमबहादुर राउत सिङ्गो दिन चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा लाग्ने गरेको बताउनुहुन्छ । तीन घण्टा सुतेर नगर र देशका लागि लागिपरेका छौं, उहाँले भन्नुभयो, हामी निष्ठा, इमानदारिताका साथ जीत सुनिश्चित गर्न अघि बढेका हौं ।

चन्द्रागिरी वडा नं. १५ को निवर्तमान अध्यक्ष भई यसअघि काम गरिसक्नुभएका राउतको विजय हासिलपछि नगर योजना आयोग स्थापना गरी सोमार्फत कार्य अगाडि बढाइने प्रतिबद्धता छ । आम नागरिकसँग एकाकार भएर ‘आर्थिक समृद्धिका लागि भौतिक निर्माण’ भन्ने नाराका साथ जसअनुसार अबको पाँच वर्षमा स्थानीयबासीको आर्थिक आयस्राेतको सूचकाङ्क वृद्धि गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

नगरपालिकामा नागरिकको हस्तक्षेपकारी भूमिका हुनसक्ने गरी ‘नागरिक मेयर अभियान’ समेत सञ्चालन भइरहेको उहाँले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा एमालेबाट भने वसन्ती श्रेष्ठको उम्मेदवारी  छ । 

नेकपा (एकीकृत समाजवादी) 

सत्ता साझेदार द नेकपा (एकीकृत समाजवादी) बाट चन्द्रागिरि नगर प्रमुखमा सुशीला न्यौपाने हुनुहुन्छ र उपप्रमुखमा सोही दलका भाइकृष्ण तिवारीको उम्मेदवारी छ । 

जनता समाजवादी पार्टी

यसैगरी, चन्द्रागिरि नगर प्रमुखमा उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका रामलाल श्रेष्ठ पनि गठबन्धनका दलबीच साझा उम्मेदवार तय गर्न चार, पाँच चरणमा बैठक बसे पनि सहमति जुट्न नसकेपछि एक्लै चुनावी अभियानमा जुट्नुभएको छ । जसपाबाट उपप्रमुखमा मैयाँ महर्जन प्रतिस्पर्धी रहनुभएको छ । ‘जातीय मुक्तिका लागि सङ्घीयता र वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने सिद्धान्तअनुरुप चुनावी प्रचारमा आफ्ना एजेण्डा प्रस्तुत भएको श्रेष्ठ बताउनुहुन्छ ।

विगतको नेतृत्वले गर्न नसकेका काम पूरा गर्ने सङ्कल्पसहित नागरिकको विकासका लागि उम्मेदवारी दिएको हुँ, उहाँ भन्नुहुन्छ, सबैले आफ्नो ठाउँ विकास गर्न उम्मेदवारी दिएको हो, यहाँका मठमन्दिर, पाटीपौवा, धार्मिक तथा सांस्कृतिक सम्पदाको निर्माणमा जोड दिइनुपर्छ । यससँगै नागरिकको आधारभूत आवश्यकता खानेपानी, धारा र बत्ती जस्ता विषयहरु छन्, गर्न सकिने कुरा मात्रै मतदातासमक्ष प्रतिबद्धता व्यक्त गरेका छौं, उहाँले बताउनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।