• १४ साउन २०८१, सोमबार

अस्पताल भवन निर्माणमा ढिलासुस्ती

blog

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शैय्याको मेहलकुना अस्पतालको निर्माणधिन भवन । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, साउन १४ गते । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ । २०८० जेठ २७ देखि २०८१ पुस २९ गतेसम्मका लागि म्याद थपिएको हो ।

५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि साढे ६ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख ४१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ । पहिलो सम्झौताअनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप भयो । २०७७ असोज २५ गतेदेखि पुस २५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटकपटक म्याद थप गरिरहेको छ । खरिद ऐनको १३औँ संशोधन अनुसार पुनः भवन निर्माणको म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर पूर्ण शर्माले बताउनुभयो । उहाँका अनुसार हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६५ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम बाँकी छ । भवन निर्माणको गति भने निकै सुस्त छ । धेरै पटक म्याद थपिएपनि ठेकेदारको लापरबाहीले काम हुन नसकेको जनाइएको छ ।

भवन निर्माण नहुँदा सेवा प्रवाहमा असर परेको मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले बताउनुभयो । ५० शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको भन्दै सापकोटाले पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भइरहेको जानकारी दिनुभयो ।  

अहिले २४ बेडबाट सेवा दिइरहेको भन्दै उनले २६ बेड अझै अभाव रहेको बताउनुभयो । पूर्वाधार अभाव हुँदा सेवा दिन नसकिएको उहाँको भनाइ छ । भवन निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै उहाँले छिटो काम सक्नुको सट्टा पटक–पटक म्याद थप गरिएको जानकारी दिनुभयो । भवन नहुँदा उपचारमा समस्या भइरहेको र सम्बन्धित पक्षले चासो नदिएको सापकोटाले बताउनुभयो । कहिलेकाहीँ बिरामीको चाप बढेको बेला भुइँमा राखेर उपचार गर्नुपरेको समेत उहाँले जानकारी दिनुभयो । शय्या अभाव भएपछि कुनै बेला अस्पताल भर्ना भएका बिरामीहरूलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरिएको छ ।

यता सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले समयमै काम सक्न ताकेता दिएको छ । तोकिएकै अवधिमा काम सक्न पटक–पटक ताकेता गरिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताउनुभयो । उहाँका अनुसार डेकुरेसन, रङरोगन लगायतका काम भइरहेका छन् ।