काठमाडौँ, जेठ २७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानुन खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ।
काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले कांग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले आर्थिक सुधारका कामका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिनुभयो।
महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुरा अगाडि बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा सुरु गर्ने जिकिर गर्नुभयो। उहाँले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुरा थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले)सँगै भएको बेलामा ९० को दशकमा गरिएका आर्थिक सुधार, जुन पछिल्लो समय रोकिएर गएको छ। ती सुधारका सन्दर्भमा हामीले व्यापक रूपमा काम गर्नुपर्ने छ। अस्ति मात्रै सम्माननीय प्रधानमन्त्री र सभापतिसँग बसेर छलफल गरेका छौँ। हामीले कानुनमा सुधार गर्ने कुरा अगाडि बढायौँ, अब हामी दोस्रो चरणको काम केही दिनमा सुरु गर्छौ। हामीले काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौँ। नियम, कार्यविधिका नाममा जुन शासन चलाइएको छ, हामीले दर्जनौँ खारेज गर्नुपर्नेछ। कैयौँ नयाँ कुराहरू बनाउनुपर्ने छ। बनाइसकेपछि यो संरचनालाई हामीले ठिक ठाउँमा लिएर जानुपर्ने छ।”
उहाँले कांग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गर्नुभयो।