• १४ पुस २०८१, आइतबार

बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन

blog

धनुषाको बडहरीस्थित नदी उकास जग्गामा गरिएको तरकारी खेती । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन ११ गते । धनुषाको मिथिला नगरपालिका–८, कसुमबिछौना गाउँकी निर्मलदेवी यादव ६ जनाको परिवार पाल्न अरुको खेतबारीमा कृषि मजदुरी गर्नुहुन्थ्यो । अरुको खेतबारीमा काम गर्दा मनग्य तरकारी उब्जाउने निमलको घरमा भने मुस्किलले तरकारी पाक्थ्यो । मजदुरीको ज्लालाले परिवार पाल्ने पनि निकै समस्या थियो । 

आफ्नो जग्गा नहुँदा गृहतको खेतबारीमा परिश्रम खर्च गर्न बाध्य निलमलाई विगत ढेड वर्षयता परिवार पाल्न समस्या छैन । तरकारीबाली लगाउन जग्गासहित बीउबिजन, मलखाद, सिँचाइ सुविधा र अध्याधुनिक कृषि औजार पाएपछि अब उहाँलाई अरुको खेतबारी स्याहार्नुपर्ने बाध्यता हटेको छ । घरमा तरकारी प्रशस्त पुगेको छ । बढी भएको तरकारी बेचेर मासिक आठ, नौ हजार रुपियाँ आम्दानी पनि गर्नुहुन्छ । 

सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ । निलमले जग्गासहित खेती गर्न बिउबिजन र मलखाद पाएपछि जीविकोपार्जनमा निकै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ज्यालामजदुरी गरेर जसोतसो परिवार चलाउँदै आएको थिएँ । परिवारको भरणपोषण गर्न मजदुरी गर्नुको विकल्प थिएन । बिच्चलीमा परेको बेला संस्थाले लगाएको गुण कहिल्यै बिर्सिन सक्दिन ।”

सीआइसीले उहाँ जस्तै कुुसुमबिछौनाका ६५ भूमिहीन किसानलाई जग्गासहित बिउँ बिजन, मलखाद, सिँचाइ सुविधा र अत्याधुनिक कृषि औजार उपलब्ध गराएका छन् । कुसुमबिछौना बडहरी खोलाको नदी उकास १५ हेक्टर जग्गालाई खेतमा परिणत गरेर समानरुपले बाँडेर ६५ भूमिहिन किसानलाई तरकारी खेतीका लागि दिएका हुन् । यसअघि अर्काको खेतमा खेतालाको काम गर्ने तथा दैनिक ज्यालामजदुरी गरेर जीवनयापन गरिरहेका अधिकांश भूमिहीन किसानको जीवन बगर खेतीको आम्दानीले फेरिँदै गएको छ । 

सो जग्गामा लौका, घिरौंला लगायत विभिन्न किसिमका तरकारी उत्पादन गरेर आम्दानी लिइरहेको आबद्ध किसान चन्देश्वर महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो जग्गा नहुँदा पहिला अरुको खेतमा काम गर्थेँ । अब खेत पाएपछि तरकारी उब्जाएर दिनको तीन÷चार सय रुपियाँ आम्दानी हुने गरेको छ । परिवार पाल्न मद्दत पुगेको छ ।” थौरै समयमा स्थानीय गरिब परिवारलाई बगर खेतिले आयआर्जनमा निकै टेवा पुर्‍याएको महतोले बताउनुभयो । 

लक्षित परिवारले यस वर्ष आलु, मूला, रायो साग, काउली, भन्टा, धनियाँलगायत खेतीबाट मनग्य आम्दानी गरेको उहाँको भनाइ छ । सिआइसी धनुषाका अध्यक्ष सञ्जय साहले आर्थिक मारमा परेका अतिविपन्न, भूमिहीन र रोजगार गुमाएका परिवारको जीविकोपार्जनमा मद्दत पुर्‍याउन र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले खेतीका लागि आवश्यक कृषि औजार, सिंचाइ, मल र बिउलगायतका सामग्री नियमित सहयोग गरिरहेको जानकारी दिनुभयो । 

यस कार्यबाट सयौं जनाले रोजगारी पाउनुका साथै उत्पादकत्वमा वृद्धि, खाद्य सुरक्षा, जैविक विविधता तथा भूमिको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक असरको न्यूनीकरण र अनुकूलनमा सकारात्मक योगदान पुग्ने अध्यक्ष साहको भनाइ छ । 

कृषि खेतीमा सहजताका लागि जेटिएसहितका कृषि प्राविधिक पनि खटाइएको छ । कृषि जेटिए मुकेश सिंहले यहाँ अर्गानिक उत्पादनमा जोड दिएको बताउनुभयो । यहाँका किसानलाई सोही अनुसारको प्राविधिक तालिम दिने गरेको बताउँदै उहाँले अध्यधिक किरा लागेको अवस्थामा मात्रै विषादीको प्रयोग गर्न सल्लाह दिने गरेको जानकारी दिनुभयो । यहाँबाट उत्पादित तरकारी अन्य ठाउँको तुलनामा स्वादिलो भएकाले बजारमा छिट्टै बिक्ने गरेको उहाँको भनाइ छ ।