• १० साउन २०८१, बिहिबार

ढुङ्गाना-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुगमन

blog

काठमाडौँ, साउन १० गते । मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुगमन गरेको छ । सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुगमन गरी जानकारी लिएको हो । 

नागढुङ्गा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । स्थलगत अनुगमनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । 

मुआब्जा वितरण, चर्किएको जमिन एवम् खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् । हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । 

सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सुरुङमार्ग ब्रेक थ्रु गर्नुभएको थियो । सुरुङमार्गको दुरी दुई हजार छ सय ८८ मिटर रहेको छ । संसदीय समितिले नागढुङ्गादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुगमन गर्ने सांसद सापकोटाले जानकारी दिनुभयो । रासस