• १० साउन २०८१, बिहिबार

बर्दीबास यातायातको राजस्व घट्यो

blog

बर्दीबास समाचारदाता

बर्दीबास, साउन १० गते । विगतका वर्षमा पाँच करोड रुपियाँसम्म राजस्वमा योगदान पु¥याउँदै आएको बर्दीबास यातायातकोे सवारी कर सङ्कलनमा यो वर्ष भने कमी आएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३२ करोड ३३ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो असुली अघिल्लो आव २०७९/८० को तुलनामा तीन लाख रुपियाँले मात्र बढी हो । कार्यालय प्रमुख राजकिशोर साहका अनुसार यातायातले विभिन्न छ वटा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ । यसमध्ये सवारी करबाट सबैभन्दा बढी २२ करोड ८५ लाख ५९ हजार रुपियाँ उठेको छ । यो रकम तीन हजार २६० वटा सवारीसाधनबाट सङ्कलन भएको उहाँले बताउनुभयो । 

यो पटक नयाँ सवारीचालक अनुमतिपत्र, वर्ग थप, प्रतिलिपि र नवीकरण गरी १८ हजार २७१ जनाले आवेदन दिएका थिए । त्यस्तै १२ प्रकारका ७४५ सवारीसाधन दर्ता र १५ प्रकारका तीन हजार २६० सवारीको जाँचपास भएका थिए । दुवै शीर्षक (लाइसेन्स र सवारी दर्ता जाँचपास) बाट छ करोड ८७ लाख २८ हजार राजस्व उठेकोे छ । 

व्यक्तिगत फर्म तथा आयकरबाट एक करोड २५ लाख सात हजार, जाँचपास र रुट परमिटबाट ७१ लाख ९६ हजार, यातायात क्षेत्रको आम्दानीबाट ६२ लाख २० हजार र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ९७ हजार ६० समेत कुल ३२ करोड ३३ लाख ११ हजार २३५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाउनुभयो । 

यातायातले सङ्कलन गरेको यो राजस्व आव २०७९/८० को तुलनामा तीन लाख ४१ हजार रुपियाँले मात्र बढी हो । असुलीको यो गतिले विगतको तुलनामा राजस्व ओरालो लागेको देखिएको छ । स्थापनाको पहिलो वर्ष केवल सात लाख रुपियाँमा सीमित रहेको यातायातको राजस्व असुली त्यसयता निरन्तर उकालो लागेको थियो । कार्यालयको तथ्याङ्क अनुसार आव २०७६/७७ मा १४ करोड ६५ लाख, २०७७/७८ मा २० करोड १५ लाख, २०७८/७९ मा २५ करोड ६३ लाख र २०७९/८० मा ३२ करोड २९ लाख उठेको थियो । यो तथ्याङ्कले अघिल्ला वर्षमा यातायातको राजस्व वृद्धि अनुपात वार्षिक पाँच करोड रुपियाँ रहेको कार्यालयले जनाएको छ । यो पटक भने अनुपात झरेर तीन लाख ४१ हजार रुपियाँमा सीमित भएकाले कार्यालयमाथि विविध प्रश्न खडा भएका छन् । 

यातायातका अधिकृत सञ्जय खतिवडाका अनुसार यस कार्यालयलाई भन्सारमा जस्तो लक्ष्य तोकिएको हुँदैन । तथापि राजस्व असुलीको अङ्कले कार्यालयप्रतिको दृष्टिकोणमा प्रभाव भने पारेको हुन्छ । स्थापनाकालदेखि नै बर्दीबास यातायातको कार्यालय व्यवस्थापन, कर्मचारी सव्रिmयता, सेवामैत्री वातावरण र आवागमनको सुविधाले धनुषा, महोत्तरीका उत्तरी क्षेत्रलगायत सर्लाही, रौतहट, सिन्धुली र दोलखाबाट समेत सेवा लिने गरेकाले राजस्व सङ्कलनमा अनुकूल प्रभाव परेको थियो । यातायातको सेवासुविधा र कार्यदक्षतामा कुनै कमी नभए पनि मधेश प्रदेशका जिल्लामा यातायात कार्यालय थपिँदै जानाले राजस्व प्रभावित भएको कर्मचारीको भनाइ छ । 

आव २०८०/८१ मा मधेश प्रदेशको मलङ्गवा र कलैयामा यातायातको नयाँ कार्यालय स्थापना भएकाले बर्दीबासमा आउने सेवाग्रही बाँडिएको हुँदा विगतको तुलनामा राजस्व असुलीमा कमी देखिएको खतिवडाको भनाइ छ । खतिवडाले भन्नुभयो, “छिमेकी जिल्लामा पनि समान सेवाका कार्यालय स्थापना भएपछि सेवाग्राही पातलिँदै गएका छन् । यसैका कारण राजस्व असुलीमा स्वाभाविक कमी आएको हो ।”