• १० साउन २०८१, बिहिबार

विमान दुर्घटना : केही काम गरेन अभ्यास उद्धारले

blog

काठमाडौँ, साउन १० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए छिटोभन्दा छिटो कसरी उद्धार गर्ने भन्नेबारे अभ्यास भएको ढेढ महिना पनि भएको छैन । गत जेठ २८ गते (४० दिनअघि) कौशल आपत्कालीन अभ्यास (फुल स्केल इमर्जेन्सी एक्सरसाइज) अभ्यास सम्पन्न भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार टिमले धावनमार्गदेखि करिब दुई सय मिटिरको दुरीमा यस्तो घटना हुँदा कसरी छिटो उद्धार गर्ने भन्ने तालिम लिए पनि साँच्चिकै विमान दुर्घटना हुँदा त्यो अभ्यास भने प्रभावकारी देखिएन ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भनिएको आपत्कालीन उद्धारमा सम्बन्धित निकायको कामको प्रभावकारी जाँच गर्न एयरपोर्ट इमरजेन्सी प्लान अनुसार दुर्घटनालगत्तै पुग्नुपर्ने अग्नि नियन्त्रक टोली नै ३० मिनेटपछि मात्र घटनास्थल पुगेको थियो ।

३० वर्ष सोही विमानस्थलमा काम गर्नुभएका पूर्वकर्मचारी भक्तबहादुर थापाले वास्तविक दुर्घटना हुँदा हामी कति निरीह अवस्थामा रहेछौँ भन्ने पोल खुलेको बताउनुभयो । यसले नेपालमा हुने हवाई दुर्घटनाको उद्धारमाथि समेत गम्भीर प्रश्न उब्जेको छ ।

विमान दुर्घटनापछि विमानस्थलमा चौबिसै घण्टा तैनाथ रहने सेनाको ‘कम्पोजिट क्विक रियाक्सन टिम’ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि आगो लागेको विमानका यात्रुको उद्धार हुन सकेन । घटनाको झन्डै आधा घण्टापछि अर्थात् ११ः४० मा विमानमा लागेको आगो नियन्त्रणमा त आयो तर यति बेलासम्म दुर्घटनामा परेका व्यक्तिको जीवितै उद्धार सम्भावना नै थिएन ।

त्यही घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखरातर्फ जाने व्रmममा सौर्य एयरलायन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका विमानका चालक मनीषरत्न शाक्यको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । सौर्य एयरलायन्सको ९ एन एएमई  (सिआरजे २००) जहाज परीक्षण उडानसँगै मर्मतका लागि बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडेको थियो । उडेको केही सेकेन्डमै अनियन्त्रित भएर धावनमार्गको उत्तरपूर्वतर्फको घाँसे मैदानमा रहेको कन्टेनरमा ठोक्किई दुई टुक्रा भई विमानमा आगो लागेको थियो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीका अनुसार विमान दुर्घटनामा सहचालक एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा (नौ वर्षीय बालक), प्रिजा खतिवडा (ऊर्जा मन्त्रालयका कर्मचारी), उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक अरेफ रेडाको मृत्यु भएको छ ।

मृतकमध्ये अधिकांश सौर्य एयरलायन्समा कार्यरत एरोनटिकल इन्जिनियर, सबइन्जिनियर तथा प्राविधिक कर्मचारी भएको सौर्य एयरले जनाएको छ । एयरलायन्सले कर्मचारी दाबी गरे पनि मृतकमध्ये एक जना नाबालक र एक जना महिला सरकारी कर्मचारी रहेको खुलेको छ ।

दुर्घटना स्थलमा दुई जनाको शव सग्लो अवस्थमा फेला परे पनि अन्य १६ जनाको भने जलेर क्षतविक्षत भएको थियो । मृतकका परिवारले शवको सनाखत गरेपछि बुधबार चार वटा शवको परीक्षण (पोस्टमार्टम) सकिएको छ । अन्य १४ जनाको शुव्रmबारसम्म सकेर सबै शव एकसाथ सम्बन्धित परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

शव सङ्कलन गरी दिउँसो १२ः२५ बजे एक नाबालक र एक महिलासहित १८ वटा शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पु-याइएको थियो ।

शव क्षतविक्षत र जलेको अवस्थमा रहेकाले त्रिवि शिक्षण अस्पतालमा एन्टिमार्टम (कपडा र कुनै चिह्न) मार्फत शवको पहिचान गर्ने काम भइरहेको पनि प्रवक्ता कार्कीले बताउनुभयो । यससँगै नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल, विपत् व्यवस्थापन तथा उद्धार टोलीसहित प्रहरी अस्पतालबाट चिकित्सकसहितका दुई वटा एम्बुलेन्स परिचालन गरिएका थिए । सशस्त्र प्रहरीको समेत झन्डै ७० जनाको टोली खोज तथा उद्धारमा परिचालन भएको थियो ।