• ७ साउन २०८१, सोमबार

महिला मजदुरकै भरमा रोपाइँ

blog

लहान समाचारदाता

लहान, साउन ७ गते  । धान रोपाइँका लागि पुरुषभन्दा महिला मजदुर नै बढी सक्रिय देखिएका छन् । पुरुष अधिकांश वैदेशिक रोजगारमा गएका छन् भने गाउँघरमा भएका पुरुष पनि रोपाइँका लागि खेतमा निस्कँदैनन् । दलित विपन्न महिलाका भरमा नै रोपाइँ कार्य भइरहेको कृषकले बताएका छन् । 

हलो, गोरुको प्रयोग गर्ने समयमा पुरुष मजदुर खेतमा देखिन्थे तर अहिले गाउँ गाउँमा ट्याक्टरको प्रयोग गर्न थालेपछि महिला मजदुरले नै बेर्ना उखेल्नेदेखि रोपाइँ गर्नेसम्मका काम गरिरहेका छन् । लहान–१३ का कृषक रघुवीर यादव भन्नुहुन्छ, “गाउँमा काम गर्ने पुरुष कामदार नै छैनन् । भएका पुरुष मजदुर रोपाइँ कार्यमा आउन मान्दैन । महिलाकै भरमा कृषि कार्य अगाडि बढिरहेको छ ।”

एक दशकअगाडि पाँच किलो धान मजदुरीमा घरमै खाना खाएर खेत रोपाइँ गर्ने महिला मजदुरलाई अहिले खानासहित नगद पाँच सय रुपियाँ वा १० किलो चामल मजदुरी तिर्दा पनि मजदुर पाउन मुस्किल भइरहेको सखुवानानकरपट्टी–३ का अर्का कृषक तिरपितलाल यादवको भनाइ छ । उहाँ थप्नुहुन्छ, “महिला मजदुर रोपाइँको बेला नआउने हो भने रोपाइँ गर्न किसानलाई धौधौ पर्ने छ ।” मुसहर समुदायका पुरुष पहिले धान रोपाइँ, हलो कोदालोको काम गर्न जति पनि पाइन्थ्यो । अहिले मुसहर समुदायका महिला असार साउनमा कृषि मजदुरका रूपमा काम गरे पनि पुरुष रोपाइँ गर्न आउँदैन । लहान–१३, सरस्वती डन्डाटोलका रीता सदाय भन्नुहुन्छ, “दिनभरि पुरुष घरमै बसेर समय बिताउँछन् तर रोपाइँ गर्न मजदुरीमा जान मान्दैनन् । वैदेशिक रोजगारमा गएका पुरुष आफ्नी पत्नीलाई खेतीपातीको काममा मजदुरी गर्न नजान मोबाइलबाटै भन्ने गरेकाले रोपाइँको समयमा महिला मजदुर पनि पाउन मुस्किल हुन्छ भने पाएका महिला मजदुर लाई भ्याइनभ्याइ हुन्छ ।”

साउन ४ गतेसम्मको तथ्याङ्क अनुसार ७७ प्रतिशत रोपाइँ भएको छ  । साउन १५ गतेसम्म ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । प्रत्येक शुक्रबार जिल्लाभरको रोपाइँ तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ । गत वर्ष ६५ प्रतिशत रोपाइँ मात्र भएको सिराहामा यस वर्ष रोपाइँ प्रतिशत बढेको ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो ।  

ज्ञान केन्द्र सिराहाका प्रमुख महासेठका अनुसार ५४ हजार हेक्टर जमिनमा धान खेती हुने सिराहाका १७ वटै पालिकाले सिँचाइको प्रबन्ध र कृषिमा गरिरहेको लगानीका कारण समयमा रोपाइँ कार्य उत्साहजनक रूपमा भइरहेको छ । रासायनिक मलखाद्य समयमा उपलब्ध भइरहेको छ । अनुगमन तथ्याङ्क सङ्कलन गर्दा रोपाइँमा ९० प्रतिशतभन्दा बढी महिला मजदुर नै सव्रिmय देखिएका छन् ।