• ५ साउन २०८१, शनिबार

उच्च अदालतको कार्यसम्पादन वृद्धि

blog

दिपायल समाचारदाता

दिपायल, साउन ५ गते  । सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१ मा बढी मुद्दा फस्र्योट गरिएको हो । लामो अवधिका मुद्दामा पनि कमी आएको छ । उच्च अदालत दिपायलले विगतका १० वर्षभन्दा बढी मुद्दाहरू फस्र्योट गरेको छ । २०८१ साल असार मसान्तसम्म उच्च अदालत दिपायलले ९०.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । सो अवधिमा सात सय थान नयाँ मुद्दा दर्ता भएका थिए भने ३३६ थान मुद्दा जिम्मेवारी सरेका थिए । जम्मा एक हजार ३६ थान मुद्दामध्ये ९३७ थान मुद्दा फस्र्योट गरिएको निमित्त रजिस्ट्रार तारादत्त बडूले बताउनुभयो । उहाँका अनुसार दर्ता भएका र जिम्मेवारी सरेकामध्ये ९९ थान मुद्दा मात्रै बाँकी छन् । जसमध्ये छ महिना अवधि कटेका नौ थान मुद्दा मात्रै बाँकी छन् ।

उच्च अदालत दिपायलबाट आव २०७९/८० मा ७३.२४ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । त्यसअघि २०७८/७९ मा ६२.२१ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । उच्च अदालत तथा मातहतका अदालतमा भर्चुअल विधिबाट बहस हुन थालेपछि कार्यसम्पादनमा सहजता हुँदै गएको उच्च अदालत दिपायलका न्यायाधीश डालकुमार खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने २०८०/८१ मा सबैभन्दा बढी मुद्दा फस्र्योट गर्न सफल भएका छौँ । विगत तीन वर्षयता भर्चुअल विधिबाट बहस, तारिख, पेसी र बकपत्र हुने गरेको छ । यस वर्ष हामीले त्यसको भरपुर प्रयोग गरेका छौँ । मातहतका कारागारमा पनि त्यसको व्यवस्था गरेका छौँ । जसले गर्दा कार्यसम्पादनमा सहजता हुनुका साथै मुद्दा फस्र्योटमा वृद्धि भएको छ ।”

आव २०८०/८१ मा श्रव्यदृश्यमार्फत बहसका लागि एक हजार १४० निवेदन परेका थिए । जसमध्ये ७२३ थान मुद्दामा सो विधिबाट बहस भएको थियो भने ११ थान बकपत्र लिइएको थियो । उच्च अदालत दिपायलले गत आवमा ८२९ थान (६९.३१ प्रतिशत) मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले आफ्नो वार्षिक अनुमानित लक्ष्यभन्दा बढी ९०.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । अदालतले सरल, सामान्य, विशेष गरेर मार्ग समूह अनुसार मुद्दा फस्र्योट गर्ने गरेको छ ।

छ हजार ५९४ थान मुद्दा फस्र्योट

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश अन्तर्गतका अदालतले छ हजार ५९४ थान मुद्दा फस्र्योट गरेका छन् । नौ वटा जिल्ला अदालतले चार हजार ९८२ थान मुद्दा फस्र्योट गरेका हुन् भने उच्च अदालत दिपायल र उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक हजार ६१२ मुद्दा फस्र्योट गरेको हो । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट ७६.०९ प्रतिशत मुद्दा फस्र्योट गरिएको छ । इजलासमा परेका ८८७ थान मुद्दामध्ये ६७५ थान मुद्दा फस्र्योट गरिएको हो ।

जिल्ला अदालतमध्ये कैलाली जिल्ला अदालतले दुई हजार ९१२ थान मुद्दा फस्र्योट गरेको छ । जहाँ चार हजार १९३ थान मुद्दा दर्ता भएका थिए । कैलाली जिल्ला अदालतले ६९.४५ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । कञ्चनपुर जिल्ला अदालतले ५३.०४ थान मुद्दा फस्र्योट गरेको छ । त्यहाँ दर्ता भएका दुई हजार २२९ थान मुद्दामध्ये एक हजार दुई सय थान मुद्दा फस्र्योट गरिएको हो । त्यस्तै डोटी जिल्ला अदालतले ७१.१७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । डोटी जिल्ला अदालतमा दर्ता भएका १११ थान मुद्दामध्ये ७९ थान मुद्दा फस्र्योट गरिएको हो । त्यसै गरी बझाङ जिल्ला अदालतले ७३.८७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २२२ थान मुद्दा दर्ता भएकोमा १६४ थान मुद्दा फस्र्योट गरिएको हो ।

अछाम जिल्ला अदालतले ६६.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा १५२ थान मुद्दा दर्ता भएकोमा १०१ थान मुद्दा फस्र्योट गरिएको हो । डडेलधुरा जिल्ला अदालतले ६६.९५ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २३३ थान मुद्दा दर्ता भएकोमा १५६ थान मुद्दा फस्र्योट गरिएको हो । दार्चुला जिल्ला अदालतले ७३.६६ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । उक्त अदालतमा जम्मा २४४ थान मुद्दा दर्ता भएकोमा १६५ थान मुद्दा फस्र्योट गरिएको हो । बैतडी जिल्ला अदालतले ७१.४२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । जम्मा १७५ थान मुद्दा दर्ता भएकोमा १२५ थान मुद्दा फस्र्योट गरिएको हो ।

त्यस्तै बाजुरा जिल्ला अदालतले ५४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । सो अदालतमा जम्मा १४९ थान मुद्दा दर्ता भएकोमा ८० थान मुद्दा फस्र्योट गरिएको हो ।