• २९ असार २०८२, आइतबार

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया

blog

गोरखापत्र समाचारदाता

गुफाडाँडा (सिन्धुपाल्चोक) असार २८ गते । सम्पादक समाज नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैँले सकेजति गुफाडाँडाको प्रवर्धन गर्न लागि परेको जानकारी दिनुभयो । उहाँले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले थप मनमोहक रहेको बताउनुभयो । 

पदयात्रा समापन कार्यक्रममा वडा नं. ९ का अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । आफ्नै स्रोतसाधनमा स्थानीयले सञ्चालन गरेको होमस्टे पनि प्रवर्धनको बाटो पर्खिरहेको उहाँले जानकारी दिनुभयो । 

सम्पादक समाजका महासचिव श्याम डोटेलले जलवायु परिवर्तनको असर यस क्षेत्रमा बढ्दै गएको औँल्याउँदै तिनको न्यूनीकरण तथा वातावरण संरक्षणमा हातेमालो गर्न समाजले पत्रकारसहितको पदयात्रा गुफाडाँडामा आयोजना गरेको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौँबाट एक सय जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पनि एक समारोहकाबिच स्वागत तथा सत्कार प्रदान गरेको थियो ।