गोरखापत्र समाचारदाता
भक्तपुर, असार २९ गते । भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले खोपले बाल र मातृ शिशु मृत्युदर घटेको बताउनुभयो । भक्तपुर जिल्लामा ३८ वडामै स्वास्थ्यका कार्यक्रम लागु भएको जानकारी दिँदै उहाँले अब भक्तपुरलाई स्वास्थ्यको ‘हब’ बनाइने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. अभियान गौतमले हाल सरकारले १४ रोगविरुद्ध ११ खोप दिइरहेको जानकारी दिँदै नेपालमा खोपमा धेरै काम भएको बताउनुभयो । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोप मात्र लगाउने गरेको बताउँदै उहाँले खोपमा हालैसम्मको उच्च ‘कभरेज’ यो वर्ष देखिएको बताउनुभयो ।