• २९ असार २०८२, आइतबार

अवैधानिक रूपमा खानेपानी उद्योग सञ्चालन

blog

अवैध रूपमा सञ्चालित पानी उद्योग अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोली । तस्बिर : यादवराज पुरी

रौतहट समाचारदाता 

रौतहट, असार २९ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको बजारको अनुगमन गर्ने क्रममा अवैधानिक तवरले खानेपानी उद्योग सञ्चालन र म्याद गुज्रिएका खाद्य वस्तु बजारमा बिक्री गर्दै आएको भेटिएको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार साँझ चन्द्रनिगाहपुर बजार अनुगमन गर्ने क्रममा दर्ताबिना नै सञ्चालनमा रहेको पानी उद्योग र स्थानीय डिपार्टमेन्ट स्टोरबाट म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीको नेतृत्वमा खटेको टोलीले अनुगमन गर्दा चन्द्रपुर नगरपालिका–५ मा रहेको रजनेस गुप्ताद्वारा सञ्चालित पानी उद्योग अवैध रहेको ठहर गरेको छ । उद्योग दर्ताबिना नै सञ्चालनमा रहेको चन्द्रपुर नपाका उपप्रमुख जयमाला चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त उद्योगले भूमिगत पानी मोटरबाट निकालेर सिधै जारमा भरेर बजारमा बिक्री गर्दै आएको जानकारी पाएपछि उक्त उद्योगको आकस्मिक रूपमा अनुगमन गरिएको हो । 

उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले पानी उद्योगका सञ्चालक गुप्ताले परीक्षणबिना पानी जारमा भरेर शिलबन्दी गरी बिक्री गर्नु उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नु सोझै ठगी भएको बताउनुभयो । 

उद्योगका सञ्चालक गुप्तालाई आइतबार आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन प्रजिअ तिवारीले आदेश दिनुभएको छ । तोकिएको समयमा कार्यालय उपस्थित नभए उद्योग सिलबन्दी गरी कानुनी कारबाही अघि बढाइने उहाँले बताउनुभयो । 

पालिकामा रहेका रविन डिपार्टमेन्ट एन्ड किराना पसल, एक्स्ट्रा भेराइटी डिपार्टमेन्ट स्टोर, मिनिमार्ट, खुसीमार्ट र साथी मार्टलगायत अन्य स्टोरमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका केही खाद्य वस्तु फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका न्यायिक सुब्बा रामनरेश साहले म्याद गुज्रिएका सामग्री दोस्रो पटक फेला परेमा कडा कारबाही र जरिबाना गरिने चेतावनी दिनुभएको छ ।