• २९ असार २०८२, आइतबार

असारमै ढकमक्क सयपत्री

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), असार २९ गते । गुल्मीमा असारमै सयपत्री फूल ढकमक्क फुलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाटमा कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गर्नुभएको हो ।  सामन्यतया दसैँतिहारमा सयपत्री फुल्ने भए पनि नेपालीले असारमै फुलाएर बेमौसमी उत्पादन सम्भव रहेको उदाहरण प्रस्तुत गर्नुभएको छ  । 

करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाउनुभएका नेपालीको बगैँचामा अहिले फूल फुलिरहेका छन् । बेमौसमी सयपत्री फूलको माग विवाह, पूजाआजा, विशेष समारोहमा यसको प्रयोग हुने नेपालीले बताउनुभयो । मौसमी समयभन्दा बाहिर फूल उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा कम हुने र मूल्य राम्रो पाइने भएकाले बेमौसमी सिजनमा फूल उत्पादन गरेको उहाँको भनाइ छ । 

सयपत्री फूल सफलतापूर्वक बेमौसमी रूपमा फुलाउनका लागि नेपालीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्नुका साथै मलजल व्यवस्थापन, सिँचाइको व्यवस्था, किरा नियन्त्रण र उन्नत बिउ प्रयोग गर्दै फूल बगैँचा व्यवस्थित बनाएको उहाँले बताउनुभयो । नेपालीले उत्पादन गरेको फूल स्थानीय बजारसँगै तम्घास पठाउने योजना छ । 

करिब १२० रोपनी खेत लिजमा लिएर विगत १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नेपालीले चार वर्षदेखि सिजनको समयमा उहाँले फूल खेती गर्दै आएको बताउनुभयो । आफूले गरेको व्यवसायबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ । 

पछिल्लो समयमा युवा विदेश जाने लहर नै चलिराखेको समयमा उहाँले युवालाई विदेश नजान र स्वदेशमै श्रम गर्नका लागि आग्रह गर्नुभएको छ ।

विदेशमा गएर गर्ने श्रम नेपालमै गरेमा राम्रो आम्दानी गर्न सक्ने उहाँले सुझाव दिनुभयो ।  नेपालीले मौसमी र बेमौसमी गरी १२ जनालाई रोजगारी प्रदान गर्दै आएको बताउनुभयो ।