• ४ साउन २०८१, शुक्रबार

मनसुनजन्य प्रकोपबाट तीन हजार बढी प्रभावित हुने अनुमान

blog

डोटीस्थित सेती नदीमा आएको बाढी । तस्बिर : केशबचन्द्र महरा

केशबचन्द्र महरा

दिपायल, साउन ४ गते । डोटी जिल्लामा यस वर्ष मनसुनजन्य प्रकोपबाट तीन हजार बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको मनसुन पूर्वतयारी तथा कार्ययोजना २०८१ अनुसार यस वर्ष जिल्लाका छ सय घरपरिवारका तीन हजार ३२ जना प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिका बाढी तथा पहिरोको उच्च जोखिममा छन् भने अन्य तीन स्थानीय तह मध्यम जोखिम रहेको कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजनामा भनिएको छ, "डोटीको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, केआईसिंह, सायल र जोरायल गाउँपालिका बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ भने आर्दश, बोगटान र बडिकेदार मध्यम जोखिममा रहेका छन् ।"

सो कार्ययोजना अनुसार सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाका एक सय घरधुरीका पाँच सय ७० जना प्रभावित हुने जनाइएको छ । जिल्लाको शिखर नगरपालिकामा ८५ घरधुरी, केआइसिंहमा ६० घरधुरी, बोगटान फुड्सिलका ५० घरधुरी, बडीकेदारका ५५ घरधुरी, आर्दशका ६०, पूर्वीचौकीका ६५, सायलका ६० घरधुरी र जोरायल गाउँपालिकाका ६५ घरधुरी प्रभावित हुने उल्लेख छ ।

"जिल्लामा सेती नदी तटिय क्षेत्र, अन्य साना गाड, खोलाहरुको तटीय क्षेत्रमा बाढी र कटानको उच्च जोखिम देखिन्छ भने सबै भिरालो बस्तीहरु र जमिन पहिरोको उच्च जोखिममा रहेका छन्", कार्ययोजनामा भनिएको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा मनसुनजन्य प्रकोपको जोखिमबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न उपलब्ध साधन स्रोत परिचालन गर्दै सरोकारवालाहरुसँग समन्वय र सहकार्यका साथै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको बताउनुुभयो ।

बडिकेदारमा छैन विपद् कोष

जिल्लाको नौ पालिकामध्ये बडिकेदार गाउँपालिकाको विपद् कोषमा रकम मौज्दात छैन । सो पालिकामा त्रिपाल, कम्बल, टेन्ट लगायत १२ थान भएपनि विपद कोषमा रकम मौज्दात नरहेको जनाइएको छ । बडिकेदारले प्रकोप जोखिम न्यूनिकरणका लागि एम्बुलेन्स, जेसिवी, ट्याक्टर एक–एक वटा तयारी अवस्थामा राखेको उल्लेख छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले २० लाख ८७ हजार पाँच सय रकम, शिखर नगरपालिकाले १६ लाख ९१ हजार, केआइसिंहले दुई लाख २० हजार, बोगटानले ३७ लाख, आदर्शले ३५ लाख, सायलले १८ लाख र जोरायल गाउँपालिकाले १९ लाख ३९ हजार रकम विपद कोषमा मौज्दात राखेका छन् ।

विपद् कोषसँगै गैर खाद्य राहत सामग्री र उद्दारमा प्रयोग हुने विभिन्न साधनहरु पनि तयारी अवस्थामा राखिएको छ ।

तीन सय बढी जनशक्ति परिचालन

जिल्लामा हुन सक्ने विपदको क्षति न्यूनिकरण गर्न तीन सय ५० जनशक्ति परिचालन गरिएको छ । जिल्ला आपत्तकालिन सञ्चालन केन्द्र र सुरक्षा निकायका तिन सय ५० जना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

सुरक्षा निकायसँगै स्थानीय तहहरुले र रेडक्रसले पनि जनशक्ति परिचालन गरिरहेको जनाइएको छ । खोज, उद्दारमा नेपाल रेडक्रस डोटीबाट एक सय जना जनशक्ति परिचालन भइरहेको जनाइएको छ । जिल्ला प्रशासनले विपद् कोषमा ३५ लाख ८० हजार पाँच सय १५ रकम मौज्दात रहेको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा कम्तिमा १५–२० जना युवा स्वयमसेवी सम्मिलित तत्काल उद्दार समुह निर्माण गर्ने र सोही समूहले विपद्को घटनाको आधिकारिक सूचना, प्रभावित जनसंख्या र क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।