• ४ साउन २०८१, शुक्रबार

बाढी र डुबानको अध्ययन गर्न विपद प्राधिकरणको टोली कञ्चनपुरमा

blog

दोधारा चाँदनी (कञ्चनपुर), साउन ४ गते । कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो । 

प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली यहाँ आइपुगेको विपद व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिनुभयो । “कञ्चनपुरमा अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड भएको छ ।” उहाँले भन्नुभयो, “विपदका बेला हामीले कस्तो अभ्यास गर्यौँ, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रह्यो यो सबै बुझ्न हामी यहाँ आएका हौँ ।” उहाँले बाढीबाट प्रभावित दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने बताउनुभयो ।

गत असार २३ र २४ गते दोधाराचाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका-३ को हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव ६ मिलिमिटिर र वेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव ८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । उक्त रेकर्ड वर्षाको जल तथा मौसम विज्ञान विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । विभागले वर्षा मापन सुरु गरेयताको यो नै उच्च हो । 

अब विकास निर्माण र बस्ती विस्तार गर्ने बेला सोच्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । “ठूला नदीको रोकथाममा मात्रै होइन साना नदीनालातर्फ पनि ध्यान दिनु आवश्यक छ ।” उहाँले भन्नुभयो, “स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्छ ।” उहाँले कतिपय नदीको सतह बस्तीभन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेको बताउनुभयो । असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर एक हजार चार सय ६५ परिवारका पाँच हजार सात सय ६६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

सोमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन् । “जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने यकीन विवरण अझै सङ्कलन भइसकेको छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भन्नुभयो, “त्यति बेला जिल्लाको ७१ प्रतिशत भू–भाग डुबानमा परेको थियो, सबैक्षेत्र जोखिममा थियो, धेरै क्षति भएको छ ।” उहाँले अहिले पनि विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । रासस