• १३ साउन २०८१, आइतबार

जिल्ला कारागारमा कैदीबन्दी कोचाकोच

blog

तिलाचन पाण्डे

तम्घास, साउन ४ गते । पच्चिस जनाको क्षमता रहेको गुल्मी जिल्ला कारागारमा चौगुणा कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ वर्गको यस कारागारमा ११५ जना कैदीबन्दी रहेका छन् । जिल्ला कारागारका जेलर रेश्मीराज पन्थी कोचाकोच गरेर राख्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार पुरुष १०५, महिला आठ जना र आश्रित दुई जना गरी जम्मा ११५ जना कारागारमा कैदीबन्दी छन्  । 

कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नु परेको र कैदीबन्दीलाई पर्याप्त खेल मैदान तथा आर्थिक उपार्जनका लागि उद्योग खोल्न समस्या भएको छ । भवन पनि जीर्ण रहेकाले समस्या अझ थपिँदै गएको भनाइ उहाँको छ । हालसम्म दुःख गरी चलाउँदै आएका तर अझ कैदीबन्दी थपिए भने समस्या झन् विकराल बन्दै जाने पन्थीको भनाइ छ ।  

यता नागरिक समाजका अध्यक्ष पदम पाण्डे कारागार यातनागृह नभई सुधारगृह जस्तो हुनुपर्ने बताउनुभयो । कारागारमा पर्याप्त खेल मैदान, उचित वासस्थान र उद्यम गर्नेका लागि उचित व्यवस्था हुनु पर्छ । उहाँले भन्नुभयो, “गुल्मी कारागार सुधारका लागि राज्यको ध्यान नजानु दुःखद छ । भवन जीर्ण हुनुले पनि कैदीबन्दीलाई विभिन्न समस्या उत्पन्न भएका छन् ।”

कारागारमा सिनियर अहेव एवं स्वास्थ्यकर्मी एक जनाको दरबन्दी छ । विगतमा रिक्त रहेको उक्त स्थानमा लामो समयपछि अहेव हाजिर हुँदा कैदीबन्दीलाई औषधी उपचार गर्न सहज भएको छ ।  २०७७ साल जेठदेखि कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखि उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उहाँको भनाइ छ ।