• ४ साउन २०८१, शुक्रबार

भुक्तानी नपाएपछि पुलको काम ठप्प

blog

रजनी योगी

सुर्खेत, साउन ४ गते । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको रामघाट र लेकबँेसी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुल निर्माणको काम बन्द भएको छ । भेरीगङ्गा नगरपालिका–११, रामघाट र लेकबेँसी नगरपालिका–४, दशरथपुर जोड्न भेरी नदीमा निर्माणाधीन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भेरी नदीमा १५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ माघ २२ गते ३२ करोड ६३ लाख १५ हजारमा अनक कन्स्ट्रक्सन कम्पनी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

सम्झौता अनुसार २०८३ असार १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । दुई वटा फाउन्डेसन निर्माणको काम सकिएको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले हाललाई निर्माणको काम रोकेको छ । 

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा ११ करोड रुपियाँ बराबरकोे बिल पेस गरेको छ । तथापि कम्पनीले हालसम्म तीन करोड ९८ लाख मात्र भुक्तानी पाएको छ । बाँकी भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । गत आर्थिक वर्ष पुल निर्माणका लागि एक करोड ४१ लाख बजेट विनियोजन गरिएको थियो । चालु आवमा समेत न्यून बजेट विनियोजन भएको छ । चालु आव २०८१÷८२ मा एक करोड २० लाख मात्र बजेट विनियोजन गरिएको हो । पुल निर्माणको ६६ प्रतिशत काम बाँकी छ । काम गरे अनुसारकै भुक्तानी दिन सडक डिभिजन कार्यालयसँग बजेट नहुँदा ठेकेदार कम्पनीले काम गर्न सकेको छैन । अझै फाउन्डेसन निर्माण, सबस्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम बाँकी छ । काम नै रोकिने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा थप बजेट माग गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । बजेट मागका लागि पटक पटक अर्थ मन्त्रालयमा धाइरहनु परेको पौडेलको भनाइ छ । आर्च प्रविधिबाट पुल निर्माण गरिने छ । 

दशरथपुर–रामघाट जोड्ने पुल निर्माणमा ढिलाइले यहाँ बासिन्दालाई सास्ती भइरहेको छ । २३ किलोमिटर लामो दुरीमा रहेको जहरे पुलबाट अहिले स्थानीयले ओहोरदोहोर गर्ने, सामान ओसारपसार गर्ने गरेका छन् । २०६० सालमा सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षको तर्फबाट ढालिएको पुल २०६४ सालमा पुनः निर्माण गरिएको थियो । अहिले उक्त झोलुङ्गे पुल पनि जीर्ण बनेको छ ।