• ५ साउन २०८१, शनिबार

राम्रो काममा पनि मुद्दा खेप्नुपर्दा हैरान छु

blog

मलङ्गवा नगरपालिका सर्लाहीको नौ वटा नगरपालिकामध्ये सदरमुकामसमेत भएको पालिका हो । जिल्लामा ९९ वटा गाउँ विकास समिति (गाविस) हुँदा एउटा मात्रै नगरपालिकाको रूपमा रहेको मलङ्गवा जिल्लाकै जेठो नगरपालिका भनेर पनि चिनिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो नगरपालिका जिल्ला सदरमुकाम भए पनि विकास निर्माणमा भने पछि घोषणा भएका नगरपालिकाहरूभन्दा पछाडि रहेको भनी आलोचना हुने गर्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख नागेन्द्रप्रसाद यादवसँग गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले नगरको समग्र विकासका सन्दर्भमा गर्नुुभएको कुराकानीः    

यहाँ नगरप्रमुखमा निर्वाचित भएपछि प्रमुख काम के के गर्नुभयो ?

विभिन्न कालखण्डमा गरी म यहाँ तीन पटक नगरप्रमुख भइसकेको छु । यो पटक नगरप्रमुखमा निर्वाचित भएको भोलिपल्ट नै दुर्गन्धित नाला सरसफाइ गराएँ । सडकको साइड ‘क्लिएर’ नभएर मलङ्गवाको मुख्य बजार क्षेत्रको सडक कालोपत्रे हुन सकेको थिएन । म निर्वाचित भएपछि सुरुमा नै मेरै घर भत्काएर सडकको मापदण्डभित्रका संरचना भत्काएँ । अहिले त्यो सडक कालोपत्रे भइसकेको छ । अन्य भित्री सडक पनि स्तरोन्नति भएका छन् । किसानका लागि झिम नदीको ठाउँ ठाउँमा कुलो निर्माण गर्ने र बाँध कस्ने काम भएको छ । खेतीको बेला किसान गुनासो गर्न आउनेबित्तिकै जेसिबी पठाएर कुलो तथा नहर मर्मतको काम गराउँदै आएको छु । शिक्षामा पहिलेभन्दा धेरै नै सुधार छ । यहाँ दिवा खाजाको पैसा सबै खाइदिने परिपाटी थियो । औषधीमा पनि त्यस्तै कमिसन चल्थ्यो । अहिले त्यो सबै रोकेको छु । स्वास्थ्यतर्फ परियोजना नियोजनको म आफैँ संरक्षक रहेकाले महिलाका लागि मलङ्गवासहित हरिवन र लालबन्दीमा पनि सेवा प्रवाहका लागि पहल गरिएको छ । मैले मेरो बलबुताले भ्याएसम्म सबै क्षेत्र सुधारको प्रयास जारी छ । 

मलङ्गवा भन्नेबित्तिकै अहिले पनि मानिसले सरसफाइ नभएको ठाउँ भनेर चिन्ने गर्छन् । यसमा के भन्नुहुन्छ ?

त्यस्तो होइन, पहिलेभन्दा धेरै परिवर्तन छ । प्रादेशिक अस्पताल रहेको क्षेत्र, श्रीमती कृष्णामती माध्यमिक विद्यालय रहेको क्षेत्र, शिवसागर चोकदेखि शिक्षा विकास तथा समन्वय एकाइसम्मको सडकसहित अन्य ठाउँ हेर्नूस् पहिलो कस्तो थियो र अहिले कुन अवस्थामा छ । पहिले त बजेट ल्याएर खल्ती भर्ने परिपाटी थियो । अहिले त्यो छैन । यहाँ नगरपालिका चोकलगायत क्षेत्रमा एक फिटसम्म पानी जम्थ्यो तर हामी आएपछि यी सबै कुरा समाधान गर्दै गएका छौँ । पहिले जस्तो मलङ्गवा डुबानमा छैन । यहाँ वर्षायाममा चप्पल लगाएर हिँड्न सक्ने अवस्था थिएन । कर्मचारीतन्त्र रहेका बेला त झन् यहाँ धेरै नै लुट मच्चाइयो । त्यो बेला ठेक्का लाग्थ्यो र ५० प्रतिशतको हिसाब चल्थ्यो । अहिले त त्यो छैन नि । सरसफाइ कर्मचारी (हलखोर) ले पनि पैसा लिने काम नगर्ने परिपाटी थियो । त्यो अहिले पूर्ण रूपमा रोकिएको छ । 

यहाँ फोहोर सङ्कलन कार्य व्यवस्थित नरहेको र सर्वसाधारणले पनि जथाभाबी फोहोर फाल्ने परिपाटी व्याप्त रहेको भन्ने गुनासो सुनिन्छ । फोहोर सङ्कलनको काम कसरी भइरहेको छ ?

पहिले त फोहोर गाडीमा हालिदिने चलन नै थिएन । गृहिणी तथा घरका अन्य मानिसले बाटोमा नै फोहोर फालिदिने परिपाटी थियो तर अहिले त्यो कम भएको छ । गाडी गएपछि सबैजसोले फोहोर दिन थालेका छन् । हामीले सबैलाई यही बानीको विकास पनि गराइरहेका छौँ । ‘स्विपर’ लाई सिट्ठी बजाउँदै गएर ठाउँ ठाउँमा १०/१५ मिनेट ट्याक्टर रोक्न निर्देशन दिएर खटाइएको छ । फोहोरमैलामा पहिलेभन्दा सुधार छ । अब यस वर्ष फोहोरमैलाको व्यवस्थापनका लागि टेन्डर पनि निकाल्नु छ । फोहोर सङ्कलनकै लागि हामीले तीन वटा ट्याक्टर घुमाउने गरेका छौँ ।  

मलङ्गवा नगरपालिकालाई आफूसँग भएको दमकल नियमित मर्मत नगर्ने र आवश्यक परेको बेला दमकल उपलब्ध गराउन नसकेको आरोप लागिरहन्छ । यसमा के भन्नुहुन्छ ?

योभन्दा पहिले दमकल बिग्रियो भन्दै ग्यारेजको बिल आउने र सबैले बाँडीचुँडी खाने परिपाटी रहेछ । म आएपछि त्यो रोकेको छु । दमकलमा पनि पहिले जस्तो समस्या छ जस्तो लाग्दैन । अहिले कुनै समस्या आउँदा तुरुन्त हेटौँडा लगेर मर्मत गराएर ल्याइहाल्ने गरेका छौँ । दमकलबाहेक हामीले ट्याक्टर, जेसिबी बिग्रँदा अन्यत्र नपठाएर वीरगन्ज, चन्द्रनिगाहपुरदेखि यहीँ मलङ्गवामै प्राविधिक ल्याएर मर्मत गराइरहेका छौँ । पहिले जस्तो चालक ग्यारेजमा गएर बिल बनाउने र बाँडेर पैसा खाने प्रवृत्ति अहिले छैन । दमकल त जिल्लामा दुई वटा मात्रै रहेकाले जिल्लाभर दौडाउँदा समस्या देखिने गरेको छ तर पनि हामीले चुस्त राख्ने अधिकतम प्रयास गरिरहेकै छौँ । 

मलङ्गवामा व्यवस्थित बसपार्क बन्यो तर पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन नि !

बस व्यवसायीले बिच बजारमा रहेको पुरानो बसपार्क छोड्न खोजेका छैनन् । यसमा पनि राजनीति भएको छ । बसपार्कको सन्दर्भमा धरी खुट्टा तान्ने प्रवृत्ति धेरै नै देखियो । बस मालिकलाई पुरानै ठाउँमा राख्दा दुई पैसा व्यक्तिगत लाभ मिलेकाले नयाँ ठाउँमा जान खोजिरहेका छैनन् । नयाँ बसपार्कलाई पूर्ण रूपमा सञ्चालनका लागि एक÷दुई हप्ताभित्रै पुुनः बस व्यवसायीसँग छलफल गर्ने तयारी गर्दै छौँ । कुनै पनि हालतमा नयाँ बसपार्कबाट बस गुडाउनु पर्छ । पुरानो बसपार्क रहेको जग्गा कृषि विकास बैङ्कको हो । अब बैङ्कले त्यो जग्गा आफ्नो नियन्त्रणमा लिन्छ । नगरपालिकाले पनि त्यहाँ रहेको बाँकी सरकारी जग्गा खाली गराएर पोखरी सौन्दर्यीकरण, मर्निङवाक गर्ने स्थान, चिल्डे«ेनपार्क बनाउने योजना बनाएको छ । 

भारतीय सीमानजिक पर्ने भएकाले यहाँबाट लागुऔषधको ओसारपसार र प्रयोग बढ्दो छ । यसको नियन्त्रणका लागि के गर्दै हुुनुहुन्छ ?

यसमा अभिभावक सचेत र जिम्मेवार बन्नुको विकल्प छैन । आफ्ना छोराछोरीको ख्याल उहाँहरूले नै गर्ने हो । हाम्रो तर्फबाट लागुऔषधको प्रयोग तथा दुव्र्यसनी नियन्त्रण गर्न सचेतना जगाउने काम गरिरहेकै छौँ । हामीले विभिन्न गैरसरकारी निकायसँग समन्वय गरी सडक नाटक देखाउने तथा अन्य सचेतना जगाउने काम त गरेका छौँ तर बुझ्नेले बुझिरहेको छैन । त्यसैले अभिभावक नै सचेत हुनु पर्छ । खुल्ला सीमा नाका छ । आफ्ना बालबच्चाको ख्याल गर्न सबैसँग अनुरोध गर्छु ।  

यहाँको कार्यकालमा अब मुख्य मुख्य के के काम गर्ने योजना बनाउनुभएको छ ?

मेरो यो कार्यकालभर किसानका लागि सिँचाइ पु¥याउन नै केन्द्रित हुुन्छु । यहाँ मुसैलीको भुर्गी नदीमा बाँध कस्ने, खुटौनामा कृषि सडक बनाउने, वडा नं. १, भेडियाहीमा वर्षौंपछि साइड क्लियर गरेको सडक निर्माण गर्ने, जिल्ला अदालतदेखि दक्षिणतर्फको सडक क्लियर गरेर नालासहित कालोपत्रे गर्नेलगायतका सोच बनाएको छु । मलाई व्यक्तिगत कुनै लाभ लिने आकाङ्क्षा छैन, जति समय नेतृत्वमा रहन्छु, जनताकै जनजीवन सहज बनाउने काममा केन्द्रित हुुन्छ । 

काम गर्ने सिलसिलामा मुख्य कस्ता चुनौतीको सामना गर्नु परेको छ ? 

यहाँ काम गर्दा पार्टीगत रूपमा खुट्टा तान्ने प्रवृत्ति धेरै छ । नबनाउँदा गाली खाने, बनाउन जाँदा इन्च इन्चको कुरा गरिन्छ । मापदण्डभित्र पर्ने अतिव्रmमण गरेर बनाइएका संरचना समेत भत्काउन दिइँदैन । त्यसैले यहाँ सडक, नालाको काम गर्न असाध्य समस्या छ । हिलोमा हिँड्नुभन्दा सबैले सहयोग गरेर कालोपत्रे गराउन सके सहज हुन्छ भनेर बुझ्ने मान्छे निकै कम छन् । सडक, नालाको काम गर्दा मुद्दा हालिहाल्ने प्रवृत्तिले धेरै नै रुवाइसकेको छ । अदालत र अख्तियारको मुद्दाले धेरै नै दुःख दिएको छ । नराम्रो काम गर्दा मुद्दा हालेको त ठिकै छ तर राम्रो काम गर्दा पनि मुद्दा हालेर हैरान पारिन्छ । त्यसका बाबजुद पनि विकासको काममा रोकावट भएको छैन । मिलापत्र गरेर वा मुद्दा जितेर बर्सौंदेखि रोकिएका काम अघि बढाएका छौँ ।