• १३ साउन २०८१, आइतबार

घरको छानोबाट हट्यो खर

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन ४ गते  । तीनपाटन गाउँपालिका–५ निवासी लीलामाया भुजेलको खरले छाएको घरको छानो यतिखेर रातो जस्तापाताले टल्किएको छ । बर्सौंदेखि खरले छाएको घरमा बस्दै आउनुभएको विपन्न वर्गकी लीलामाया घरको छानो रङ्गीन जस्तापाता टल्किँदा मक्ख पर्नुभएको छ ।

घरमा जस्तापाता लगाएसँगै आगलागी र हुरीबतासको जोखिम घटेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “रहर भएर पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले घरमा जस्तापाता लगाउन सकिरहेको थिइनँ । बल्ल सहरी विकास तथा भवन कार्यालयले रहर पूरा गरिदियो ।”

उक्त कार्यालयले घरमा जस्तापाता लगाउन दिएको पैसाले आफूले घरको छानो जस्तापाताले छाउन सकेको लीलामायाको भनाइ छ । घरबाट खरको छानो हटाउने अभियान अन्तर्गत बागमती प्रदेश सरकारको विषेश अनुदानमा लीलामायाको घरबाट खरको छानो हटेको हो । 

सोही ठाउँका उद्धबबहादुर पिठाकोटेको घर पनि यो वर्ष खर हटाएर घरको छानो रातो जस्तापाताले छाउनुभएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यव्रmम अन्तर्गत प्रदेश सरकारको विशेष अनुदानमा सिन्धुली र रामेछाप जिल्लामा गरी ७७२ घरबाट घरको छानो हटाउने अभियान भइरहेको छ । उक्त अभियान सहरी विकास तथा भवन कार्यालय सिन्धुलीले कार्यान्वयन गरिरहेको छ ।

कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जस्तापाता लगाई घरबाट खरको छानो हटाउन ७७२ जनाले सम्झौता गरेकामा १२१ जनाले सम्पन्न गरिसकेको र बाँकीको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौता गर्नेमध्ये सिन्धुलीका ६४० जना र रामेछाप जिल्लाका १३२ जना रहेका छन् । तीमध्ये सिन्धुलीका १२१ जनाले सम्पन्न गरी दोस्रो तथा अन्तिम किस्ता लगिसकेका छन् ।”

“घरको छानोबाट खरको छाना हटाएर जस्तापाता लगाउन एक जना लाभग्राहीले दुई किस्ता गरी ५७ हजार छ सय रुपियाँ पाउँछन्,” कार्यालय प्रमुख घिमिरेले थप्नुभयो, “सम्झौता गर्नेबित्तिकै पहिलो किस्ता र बाँकी रकम काम सकेपछि पाउँछन् । उक्त रकम जस्तापाता लगाउन पर्याप्त देखिएको छ । लाभग्राहीले केही बेहोर्नु पर्दैन ।”

हालसम्म सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा ४१ जना, तीनपाटन गाउँपालिकामा २५ जना र फिक्कल गाउँपालिकामा ५५ जनाले खरको छानो हटाएर जस्तापाता लगाइसकेका छन् । खरको छानो हटाएर जस्तापाता लगाउन सिन्धुली जिल्लामा तीनपाटन गाउँपालिकामा दुई सय जना, दुधौली नगरपालिकामा ७६ जना, फिक्कल गाउँपालिकामा १२० जना, गोलन्जोर गाउँपालिकामा १३९ जना, हरिहरपुरगढी गाउँपालिकामा ९१ जना, सुनकोसी गाउँपालिकामा ७१ जना र घ्याङलेख गाउँपालिकामा सात जनाले सम्झौता गरेको कार्यालयले जनाएको छ । त्यस्तै रामेछाप जिल्लामा सुनापति गाउँपालिकामा ३६ जना, रामेछाप नगरपालिकामा १७ जना, खाँडादेवी गाउँपालिकामा ११ जना र मन्थली नगरपालिकामा दुई जनाले सम्झौता गरेका छन् ।