• ३ साउन २०८१, बिहिबार

टयाक्टर दुर्घटनामा दुई दर्जन बढी घाइते

blog

उपचारमा ट्याक्टर दुर्घटनाका घाइते ।

महोत्तरी, साउन ३ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा ताजिया मेला भर्न जाँदै गरेको बेला टयाक्टर दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये एक जनालाई थप उपचारको लागि जनकपुर रेफर गरिएको छ। 

जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट ज १ त ८०४४ नम्बरको टयाक्टरमा चढेर पिपरा, जनकपुरलगायतका ठाउँमा ताजिया मेला हेर्न जाँदै गरेको बेला जलेश्वर नगरपालिका वडा नम्बर २ जिरोमाइलमा दुर्घटना भएको हो ।

टयाक्टर चालकले अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको कारण जिरोमाइलको डिभाइडरमा ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा २६ जना घाइते भएको र उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।

 घाइते मध्ये अधिकांशलाई साधारण चोटपटक लागेको प्रादेशिक अस्पताल जलेश्वरका इमरजेन्सी प्रमुख रोविनकुमार झाले जानकारी दिनुभयो । 

प्रादेशिक अस्पतालमा खटिनुभएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुरले कम्मर, हातमा बढी चोट लागेका जलेश्वर नगरपालिका वडा नम्बर ६ का आशिष् राइनलाई थप उपचारको लागि जनकपुर रेफर गरिएको जानकारी दिनुभयो । 

ट्याक्टरमा अधिकांश बालक सवार रहेको खुलेको छ। अस्पतालमा बिरामी र बिरामीका कुरुवाको भीड बढ्दै गएपछि प्रहरीले भीड हटाएर उपचारमा सहजता प्रदान गरेको जनाइएको छ ।