• ३ साउन २०८१, बिहिबार

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न

blog

फाइल तस्बिर ।

तिलाचन पाण्डे

तम्घास, साउन ३ गते । गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष गुल्मीमा ७ हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको हो ।  

जस अनुसार पाँच हजार ६७१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको उहाँको भनाइ छ । मध्य असारबाट पानी परेकाले रोपाइँमा किसानलाई चिन्ता नपरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

जिल्लामा ८५ हजार ६७० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३४ हजार ३९५ हेक्टर जमिन सिँचाइ योग्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म करिब ११ हजार ७२० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । खेती योग्य जमिन पछिल्लो समयमा बाँझिदै जानुमा युवाहरुको विदेश पलायन, गाउँमा वृद्धवृद्धाहरुमात्रै रहनु र बढ्दो बसाइँसराइँको कारण रहेको भण्डारीले बताउनुभयो । 

जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सी, लामी, जडन, जुवा, अनदी, काठे मार्सी जातको धान कृषकहरुले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्तर्गत यु.एस–३१२ र शङ्कर जातको धान लगाउँदै आएका छन । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको भण्डारीले जानकारी दिनुभयो । 

धानखेती हुने गुल्मीका मुख्य फाँटहरु 

जिल्लाका १२ वटै स्थानीय तहमा धानखेती गरिँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीका गुल्मीले जनाएको छ । इस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेबेंसी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणबेंसी, खहरे थापाचौर फाँटमा धान खेती गरिंदै आएको छ । 

त्यस्तै मुसिकोट नगरपालिकाको वामीफाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आँपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धानखेती हुँदै आएको छ। 

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धानखेती हुँदै आएको छ । सत्यवती गाउँपालिकामा अस्लेवाफाँट, अरुङ्गाफाँट, साहाघाट, चेहमी,पाहादी, लिम्घा फाँटमा धानखेती हुँदै आएको छ । कालीगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पुर्तिघाट, छापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिहीङ फाँटमा धानखेती हुँदै आएको छ । 

रुरुक्षेत्र गाउँपालिकाको घिउँबेंसी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी बेंसीका चौर फाँट, एक्लेपिपल फाँटमा धानखेती हुँदै आएको छ । मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सूर्यटारी फाँटमा धानखेती हुँदै आएको छ । छत्रकोट गाउँपालिकाको खर्ज्याङफाँट, मनवागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धानखेती हुँदै आएको छ । 

गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धानखेती गरिन्छ । रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँटमा धानखेती गरिन्छ । धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँटमा धान रोपाइँ हुँदै आएको छ । मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी,अर्जेको फाँटमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।