• ३ साउन २०८१, बिहिबार

सामुदायिक विद्यालयका बालकक्षा व्यवस्थित बन्दै

blog

दुधौली नगरपालिका–३ स्थित आधारभुत विद्यालय झुंगामा व्यवस्थित गरिएको बालकक्षा । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन ३ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा सामुदायिक विद्यालयमा सञ्चालित बालकक्षा व्यवस्थित बन्दै गएका छन् ।

तीनदेखि चार वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय जाने बानी बसाउन स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घ संस्थाको साझेदारीमा आवश्यक शैक्षिक सामग्रीसहित बालकक्षा कोठा झिलिमिली बनाउन विद्यालय जुटेका छन् । विद्यालयको बालकक्षालाई हेर्न, सुन्न र खेल्दै पढ्ने गर्ने बाताबरणसहित सँजाएपछि बालबालिका पनि खुशि देखिएका विद्यालयले जनाएका छन् ।

कमलामाई नगरपालिका–९ काउछेस्थित ज्ञानज्योती आधारभूत विद्यालयको बालकक्षा भित्र पस्दा बालबालिका प्रफुलित हुने गरी शैक्षिक सामग्रीले सजाइएको छ । बसाई व्यवस्थानसँगै बालबालिकालाई खेल्दै, पढ्दै गर्ने गरी कक्षाकोठालाई व्यवस्थित गरिएको विद्यालयका प्रधानाध्यापक यादव सुवेदी बताउनुहुन्छ ।

‘‘यतिखेर यो विद्यालयको बालकक्षामा तीनदेखि चार वर्ष उमेर समूहका १३ जना बालबालिका अध्ययनरत छन्,’’ उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारले सामाजिक सङ्घ संस्थाको साझेदारीमा पहिलो प्राथमिकतामा राखेर बालकक्षालाई व्यवस्थित गरी बालबालिका मैत्री बनाउदै गएको छ ।’’

शिक्षकलाई तालिमदेखि शैक्षिक सामग्री उपलब्ध गराउने, बसाई व्यवस्थापन, उनीहरुलाई सहज हुने गरी सुत्ने ठाँउसहित बालकक्षा सुधारिएर गएको उहाँले बताउनुभयो । सहज र उपयुक्त बसाई व्यवस्थापनले बालकक्षामा शिक्षण सिकाई कृयाकलापमा थप सुविधा पुगको उहाँको भनाइ छ ।

त्यस्तै सुनकोसी गाँउपालिका–६ स्थित दीर्घप्रदिप माविको बालकक्षा पनि उस्तै चिटिक्क सुधारिएको छ । स्मार्ट टिभिले विद्यार्थीहरुलाई प्रत्यक्ष देखेर सिक्ने वातावरण छ भने बालकक्षामा शैक्षिक सामग्रीको व्यवस्थापन निकै राम्रो भएपछि बालबालिका घरमा भन्दा विद्यायमा रमाउन थालेको शिक्षकहरु बताउछन् ।

उसो त बालकक्षाको व्यवस्थापनको मापदण्ड नेपाल सरकारले बनाएको छ । बालकक्षामा बालबालिकाको बसाई व्यवस्थापन चिसो नलाग्ने गरी व्यवस्थित हुनुपर्ने, बसेर राउण्ड टेबलमा पढ्न सक्ने गरी टेबलको व्यवस्थाप हुनु पर्ने, सिकाई कर्नरको व्यवस्थापन हुनुपर्ने लगायतको मापदण्ड रहेको कमलामाई नगरपालिका–३ स्थित रक्तमाला प्राविका प्रधानाध्यापक कर्णबहादुर कार्की बताउनुहुन्छ । उहाँले सोही अनुसार विद्यालयले बालकक्षा व्यवस्थित गर्दै गएको जानकारी दिनुभयो । खेल, गीत, चित्र र कथाको माध्यमले बालकक्षामा हुने रमाइलो वातावरणले त्यस्ता बालबालिका नियमित विद्यालय आउन बानि परेका उहाँले जानकारी दिनुभयो ।

उहाँले बालबालिकालाई शैक्षिक वातावरण दिन बाल विकास केन्द्र प्रभावकारी बनेको बताउनुभयो । त्यस्ता बालबालिकालाई दैनिक दुई घण्टा पढाइका अतिरिक्त विभिन्न खेल खेलाएर र नाचगानको माध्यमले विद्यालय प्रोत्साहन गर्दै आएको उहाँको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुलीका अनुसार जिल्लामा ५४७ वटा सामुदायिक विद्यालय रहेका छन् ।