• ३ साउन २०८१, बिहिबार

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

blog

भोजपुर, साउन  ३ गते ।  यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ । 

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आउनुभएको छ ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उहाँले बताउनुभयो । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् । 

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु. ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उहाँले बताउनुभयो । विदेशमा सात वर्ष बिताउनुभएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताउनुभयो । “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु. आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उहाँ बताउनुहुन्छ ।  आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा  आउने उहाँले बताउनुभयो । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उहाँले बताउनुभयो । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् ।  “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् ।  मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।” 

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताउनुभयो । उहाँलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउनुहुन्छ  । रासस