• ३ साउन २०८१, बिहिबार

आन्तरिक पर्यटनबाटै क्व्होलासोथारको समृद्धि

blog

लमजुङको क्व्होलासोथार गाउँपालिकाको उत्तर र पूर्वमा मस्र्याङ्दी गाउँपालिका, पश्चिममा कास्की, दक्षिणपूर्वमा बेँसीसहर नगरपालिका र दक्षिणपश्चिममा मध्यनेपाल नगरपालिका पर्दछन् । साबिकको बाग्लुङपानी गाविसका वडा नं. १, २, ५ र ६ का साथै मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजे र गिलुङ गाविस मिलेर क्व्होलासोथार गाउँपालिका बनेको हो । १७५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकामा नौ वडा छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनी पालिका अध्यक्ष चुनिनुभएका सूर्यप्रसाद गुरुङसँग गोरखापत्रका लागि लेखनाथ समाचारदाता फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :


क्व्होलासोथारको विकासका लागि गाउँपालिकासँग के कस्ता योजना छन् ?

हाम्रो पालिका विकासका दृष्टिले विस्तारै बामे सर्दै छ । पालिका विकासका लागि पालिकाको एकल प्रयास मात्र पर्याप्त हुँदो रहेनछ । यसमा समुदायदेखि सङ्घ सरकारसम्मको सहकार्य आवश्यक रहन्छ । यहाँसम्म आइपुग्न अहिले करिब आधा दर्जन बाटा भए पनि अझै मोटरबाटो पुगिसकेको छैन । बाटो विकासको योजना बनाएका छौँ । यहाँ आन्तरिक र बाह्य पर्यटनको पनि ठुलो सम्भावना छ  । यसको प्रचारप्रचारलाई अझ तीव्र पार्नेमा लागेका छौँ । अब प्रदेश, सङ्घ सरकारसँगै पालिका मिलेर एकीकृत रूपमा योजना बनाएर यसको विकास गर्नु जरुरी भएकाले त्यससम्बन्धी योजना बनाई अघि बढ्दै छौँ । 


पालिकामा के के काम गर्नुभयो र प्राथमिकताका आधारमा के कस्ता काम गर्दै हुनुहुन्छ ?

पालिकाले आफ्नै आधुनिक प्रशासकीय भवन बनाएको छ । पाँच शøयाको अस्पताल पनि बनिसकेको छ । हामी अब १५ शøयाको अस्पताल बनाउने योजनामा छौँ । यही वर्ष नगरपालिकालाई एम्बुलेन्स प्राप्त हुँदै छ । काठमाडौँ महानगरपालिकाले क्व्होलासोथारलाई एम्बुलेन्स सहयोग गर्दै छ । अहिलेसम्म हामीले विपत्मा परेका र अत्यावश्यक सेवा चाहिने नागरिकलाई पालिकाकै साधनले सेवा दिने गरेका छौँ । पालिकामै भिडियो एक्सरे सेवा थालेका छौँ । पालिकाले आफ्नै खर्चमा एमबिबिएस डाक्टर राखी सेवा दिएको छ । आगामी वर्ष थप एक ठाउँमा स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने योजना छ । यही वर्ष पसगाउँ र सिङ्दीमा पुल बन्दै छ । यही आर्थिक वर्षमा वडा नं. ३ घलेगाउँमा वडा कार्यालय बनाउने योजना छ । क्व्होलासोथार चव्रmपथ करिब बनिसकेको छ । यसलाई स्तरोन्नति गर्नुपर्ने छ । मेरै कार्यकालमा अढाई किलोमिटर बाटो कालोपत्रे भएको छ । थप बाटो कालोपत्रेका लागि टेन्डर आह्वान भइसकेको छ । अरू नियमित काम त छँदै छन् । 


कार्यकालको आधा अवधि कस्तो रह्यो ?

स्थानीय सरकारको प्रमुखका रूपमा यो अवधि मेरा लागि सिकाइको अवधि बन्यो । हुन त म यही क्षेत्रमा यसअघि पनि सामाजिक रूपमा सव्रिmय नै थिएँ । स्थानीय सरकार स्थानीयको दुःखसुखमा छ भन्ने अनुभूति दिलाउन सकेँ भन्ने मलाई लाग्छ । यहाँका चुनौती राम्ररी बुझ्ने मौका पाएको छु र ती चुनौती सामना गर्दै समृद्धिका सम्भावना खोज्न बाँकी कार्यकाल लगाउने मेरो प्रण छ । 


क्व्होलासोथारको विकासको मुख्य आधार केलाई मान्नुहुन्छ ? 

हाम्रो गाउँपालिका साबिकका छ गाविस र बागलुङपानी गाविसका चार वडा मिलेर बनेको छ । क्व्होलासोथार गुरुङ जातिको ऐतिहासिक थातथलो हो । हाम्रो पालिकाका ९० प्रतिशत बासिन्दा गुरुङ समुदाय नै छन् । इतिहासकारको भनाइ अनुसार गुरुङहरू अहिले जहाँ जति छन्, सबै यहीँबाट अन्यत्र गएका हुन् भन्ने छ । यो भौगोलिक बनावटले सुन्दर गुरुङ समुदायको बाहुल्य भएको पालिका हो । नमुना होमस्टे गाउँहरू घलेगाउँ र भुजुङ यहीँ पर्छन् । कृषि, पर्यटन र कला, संस्कृतिमा क्व्होलासोथारको छुट्टै पहिचान छ । गुम्बा, मठमन्दिरसहित घाँटु, सोरठी नृत्य यहाँका आकर्षण हुन् । चिया बगान, कफी खेती, अलैँची, भेडापालन पनि यहाँका स्थानीयका समृद्धिका आधार हुन् । वडा नं. ८ बाट गोलभेँडा निर्यात गरी अन्यत्र पठाइरहेका छौँ । वडा नं. ७ मा कफीको उत्पादन लोभलाग्दो गरी बढिरहेको छ भने वडा नं. ३ ले मौरीपालनमा राम्रो सम्भावना देखाएको छ । हिउँले ढाकिएका हिमाल र मनोरम पहाडी दृश्य, नमुना होमस्टे, गुरुङ समुदायको ऐतिहासिक धरोहर क्व्होलासोथारदेखि घले राजाको पार्क यहाँका गन्तव्य हुन् । यी सम्भावनाको खोजी र विकास गरी आन्तरिक र बाह्य पर्यटनको विकासबाट नै हाम्रो पालिकाको समृद्धि सम्भव छ । हामी त्यही बाटोमा छौँ । 


क्व्होलासोथारको आफ्नै आवधिक योजना छ ?

यसअघि हामीले बनाएको त्रिवर्षीय योजना लागु गर्ने यो अन्तिम वर्ष हो । हामी प्रदेश सरकार र सङ्घ सरकारका विकासका लक्ष्य, योजना र उद्देश्यसँग तादात्म्य राख्ने गरी पञ्चवर्षीय योजना बनाउने तयारीमा छौँ । हाम्रो पालिकाका आफ्नै स्रोतसाधन निकै सीमित छन् । नयाँ आयका स्रोतको खोजी गर्दै प्रदेश र सङ्घ सरकारसँग मिलेर पालिकाको विकास गर्नेतर्फ हाम्रो अर्जुनदृष्टि छ । 


तपाईंको कार्यकाल सकिँदा क्व्होलासोथारले के फरकपन पाउने छ ?

हाम्रो पालिका ग्रामीण र विकट छ । एकातिर स्रोतसाधन कम छ भने जनसङ्ख्याको ठुलो हिस्सा खास गरी युवापुस्ता सहर, बजार र विदेशमै बस्दा जनशक्तिको अभाव पनि झेल्नुपर्ने अवस्था छ । नदीजन्य पदार्थबाट आम्दानी पालिकाले लिन सक्ने गरी व्यवस्था मिलाउन लागेका छौँ । अहिलेका लागि सडक र पूर्वाधार नै हाम्रो विकासका मेरुदण्ड हुन् । हाम्रो कार्यकालभित्र कमसेकम पालिकाका सबै वडासम्म बाह्रै महिना सवारी चल्ने बाटो बनाउने हाम्रो लक्ष्य छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, मानवीय विकास जस्ता पक्षमा जनआकाङ्क्षा सम्बोधन गरी हामी नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउँदै यसको अपरिहार्यता पुष्टि हुने वातावरण निर्माण हुने छ भन्नेमा विश्वस्त छौँ ।