• २ साउन २०८१, बुधबार

रेलमार्ग सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी

blog

गाडीमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गर्दै प्राविधिक ।

शालिग्राम नेपाल 

चितवन , साउन २ गते । चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। 

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर राखेका थिए । 

नियन्त्रण लिएपछि सुरक्षाको लागि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि  उनीहरूले प्रहरीकै अगाडि आगजनी गरेका थिए ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित सङ्घर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिनुभयो  । 

सचिव नेपालका अनुसार सो टोलीले मङ्गलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार वडा नम्बर ७ मा सर्भे गर्दागर्दै २–३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए  ।  

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।’ बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।  

केही महिना अगाडि स्थानीयको विरोधपछि छलफल भएर स्थान परिवर्तनको छलफल भएको थियो । 

चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नम्बर ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ । यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै सङ्घर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायका बीचमा छलफल गरिएको थियो ।

त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर,अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि यहाँका स्थानीय सशङ्कित बनेका छन् ।