• २ साउन २०८१, बुधबार

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

blog

पर्वत,  साउन ३  गते । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ । 

पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । मोदी र कालीगण्डकी नदीको सङ्गमको रुपमा रहेको मोदीबेणीधाममा भजन कीर्तनसहित विशेष कार्यक्रम  राखिएको छ । 

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीबेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन् । मोदीवेणीमा  स्नान गर्नका लागि पर्वत, बागलुङ्,, स्याङ्गजा र कास्कीबाट हजारौको संख्यामा श्रद्धालुहरु आउने गर्दछन भने सेतीबेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र गुल्मीबाट श्रद्धालुहरु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात विष्णुको अबतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ । हरिशयनी एकादशीको अबसरमा मोदीबेणी र सेतीवेणीमा भजन कीर्तन आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । रासस