• २ साउन २०८१, बुधबार

सिमलतालमा अध्ययन टोलीको स्थलगत निरीक्षण

blog

सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरु । तस्विरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, साउन २ गते । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरुले स्थलगत निरीक्षण गर्नुभएको छ । आज बिहान चितवन आएको टोली बिहान घटनास्थल पुगेर अध्ययन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । घटनास्थलको स्थलगत निरीक्षण गरेपश्चात सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

अहिले घटनास्थलमा अध्ययन गरिराखेको यातायातका प्रतिनिधि भीमज्वाला राईले जानकारी दिनुभयो । बिहान घटनास्थल पुगेको टोलीले त्यहाँको वस्तुस्थिति प्रत्यक्षदर्शी र भूगोललगायतको बारेमा अध्ययन गर्नेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको टोलीका सदस्यहरुको भनाइ छ । 

कार्यदलले घटना हुनुको कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपाय सम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा अध्ययन गर्ने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ ।

उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । सोही कार्यादेश बमोजिम अध्ययनका लागि कार्यदलका सदस्यहरु चितवन आउन लागेका हुन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।