• २ साउन २०८१, बुधबार

खोलामा डुबेर एकको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २ गते । मङ्गलबार दिउँसो पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दिउँसो २ बजेतिर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –७ घर भई हाल  पोखरा –८, नागढुङ्गा बस्ने २८ वर्षीय सन्तोष सिम्खडा खोलामा डुब्नुभएको थियो ।

पोखरा –२३ को घाँटीछिनामा पर्ने हर्पन खोलामा डुबी बेपत्ता सिम्खडाको शव वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट खटिएको उद्धार टोलीले साढे ३ बजे फेला पारेको थियो । 

शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

मङ्गलबार साँझ नै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ८ वीरेठाटीमा खोलाले बगाएका एक जनाको उद्धार गरिएको छ । मोदी खोलाले सोलुखुम्बु घर भइ हाल अन्नपूर्ण वडा १० घान्द्रुकमा ज्यामी काम गर्ने वर्ष ६० का शरण राईलाई बगाएको थियो ।

प्रहरी चौकी वीरेठाँटीबाट खटिएको प्रहरी टोलीले राईको उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ । राईको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो ।