• ११ मंसिर २०८१, मङ्गलबार

पाँच हजार मिटर अग्लो स्थानमा सडक सुचारु

blog

न्यालु लेकमा बोलेरो जीप सञ्चालन हुँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार ३० गते ।
 नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी जाने सडक सुचारु भएको छ । न्यालु लेकमा जमेको हिउँ र पहिरोले भत्काएको सडक मर्मत गर्ने कार्य भएपछि उक्त सडक सुचारु भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले सडक मर्मतपछि सिमकोट लिमी लाप्चाको न्यालु लेकको सडक सुचारु भएको बताउनुभयो ।

गत मङ्सिरको हिमपातपछि सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालयले सडक सफा गर्ने कार्य गरेपछि यातायात सेवा सुचारु भएको उहाँले बताउनुभयो । सो सडक सुचारु नहुँदा लिमीका स्थानीय हिल्सा नाकाबाट आउजाउ गर्दै आउनुभएको थियो भने सुनखानी प्रहरी चौकीका प्रहरी पनि हिल्सा भएरै चौकीमा जानुभएको थियो ।

उहाँले पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक सफा गर्ने कार्य भएपछि लिमी र लाप्चा क्षेत्रसम्म यातायात सुचारु भएको बताउनुभयो । सडक सुचारु भएसँगै लिमी आउजाउ र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सहज भएको छ । आफ्नो जिल्लामा सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने कार्य भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।