• १० मंसिर २०८१, सोमबार

क्षति न्यूनीकरणमा तदारुकता

blog

प्रकृतिले दिएको वरदान कतिपय अवस्थामा अभिशाप पनि बन्न सक्ने विडम्बना छ । नेपाललगायत दक्षिण एसियाका निम्ति मनसुनी वर्षा वरदानै हो । सामान्यतया जेठको अन्तिम सातादेखि असोजको पहिलो सातासम्मका चानचुन साढे तीन महिना मनसुनी वर्षाको सिजन हो । हिन्द महासागरमा पर्ने सूर्यको तेज तापले पानी वाष्पमा परिणत भएको जलकणलाई मनसुनी वायुले हिमाली शृङ्खलामा ठोकाउने क्रमसँगै मनसुनी चक्र चल्छ । यो मनसुनी चक्रबाट आउने वर्षा नै दक्षिण एसियाका लगभग पौने दुई अर्ब मानिसको जीवन हो । यस क्षेत्रको अधिकांश कृषि उपज मनसुनी वर्षामा निर्भर छ । बाँकी कृषिका निम्ति पनि मनसुनी वर्षाले पुनर्भरण गरेर पानीका स्रोत सुनिश्चित गर्छ । पानी नै जीवन भएकाले मानिसलगायत सम्पूर्ण जैविक परिवार तथा पर्याचव्रmमा यही मनसुनी वर्षाको योगदान छ तर त्यही वर्षाबाट हुने बाढी, पहिरो, डुबानबाट भएको जनधनको क्षति अभिशाप बन्दै छ । 


असार लागेसँगै आएको यो वर्षको मनसुनले बाढी, पहिरो र डुबानले रौद्र रूप धारण गर्दै छ । नारायणगढदेखि मुग्लिङसम्मको सडक पछिल्ला वर्षमा धराप बन्दै थियो । जोखिममै सवारीसाधन गुडिरहेकै थिए । विगतमा पनि धेरैको ज्यान लिएको थियो । शुक्रबार निकै ठुलो क्षति भयो । सोही सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा दुई वटा बस त्रिशूलीमा खसे । ती बसमा सवार ६२ यात्रु बेपत्ता भए । बर्सातमा बाढीले उर्लिएकी त्रिशूलीमा सखारैको अन्धकारमा पौडिएर तीन जनाले ज्यान जोगाउनु चानचुने साहस होइन । पहिरोमा खसेको ढुङ्गाले लागेर अर्का बस चालकको ज्यानै गयो । सिमलतालमा झैँ देशभरका सडकका अनेक ठाउँ पहिरोको जोखिममा छन् । बर्सातमा यात्रा असाध्य जोखिमयुक्त हुँदै छ । जोखिम मूल्याङ्कन गरी सवारीबाहक यात्रा सुरक्षित बनाउन सम्बद्ध निकाय गम्भीर हुनुपर्ने छ ।


सिमलतालको दुःखद घटनासँगै शुक्रबार देशभरि बाढीपहिरोले निकै ठुलो क्षति गरेको छ । बाढी, पहिरो, चट्याङसहितका प्राकृतिक विपत्ले शुक्रबार मात्र देशभरमा १८ जनाको ज्यान लियो । भेलपहिरो र बाढीले बगाएर अरू मानिस बेपत्ता भएको दुःखद खबर आइरहेका छन् । गृह मन्त्रालयका अनुसार शुव्रmबार मात्र पहिरोबाट १३ जना, बाढीबाट तीन जना र चट्याङबाट एक जनाको ज्यान गयो । काठमाडौँकै दक्षिणकालीमा पहिरोले पर्खाल भत्काउँदा एक जनाको ज्यान गयो । यो वर्षको मनसुन सुरु भएयता बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपबाट १०८ जनाको ज्यान गइसकेको छ । असार महिनाभरमा भएको जनको यो ठुलो क्षति हो । बाढी, पहिरो, डुबानलगायतबाट भएको धनसम्पत्तिको क्षतिको आकलन हुनै बाँकी छ ।


मनसुनी वर्षा प्राकृतिक हो तर बाढी, पहिरो र डुबानको कारण भने प्राकृतिक मात्र होइन । मानिसले विकासका नाममा गरेको असावधानीका अनेक व्रिmयाकलाप प्राकृतिक प्रकोपका कारण बनेका छन् । त्यस्तो प्रवृत्ति निरन्तर बढ्दो छ । वनजङ्गलको विनाशले जलचक्रमा परेको प्रतिकूल प्रभावले अति वर्षा र अति खडेरी हुने गरेको छ । यसले धर्तीलाई कमजोर बनाएको छ । कमजोर धर्तीमा मनसुनी वर्षा अलि बढी हुनासाथ प्राकृतिक प्रकोप बढेर जान्छ । अझ नेपाली परिवेशमा भन्नुपर्दा जताभावी सडक बनाउने नाममा डोजरे विकास पनि अनेक ठाउँमा पहिरो र बाढीको विदु्रप कारण बनेका छन् । चुरे विनाश र अति दोहनले तराई मधेशमा डुबानको समस्या बर्सेनि जोखिमयुक्त हुँदै छ ।


औद्योगिकीकरण आरम्भ भएदेखि जैविक इन्धनको अधिक प्रयोगले वायुमण्डलमा कार्बनडाइअक्साइडलगायतका मानव र प्रकृति प्रतिकूल ग्यासले विश्व तापमान बढाउँदै लगेको छ । हिमाल पग्लन थालेका छन् र हिमताल जोखिममा छन् । बर्सातमा नेपालको हिमाली भेगबाट बगेर आउने नदीहरूको वेग बढ्दो छ । नेपालको हिमाली तथा पहाडी भेग कमजोर र कलिला छन् । तिनमा योजनाबद्ध इन्जिनियरिङबिना बनाएका सडक तथा पूर्वाधारले भेल पहिरो बढाएको छ । कतिपय सडकमा भलको प्रभावकारी व्यवस्थापन गरिएको छैन । यी तमाम परिवेशमा बाढी, पहिरो, डुबानलगायतका प्रकोप बढिरहनु अस्वाभाविक होइन । मानिसको ज्यान र ज्यानसँगै धनसम्पत्तिको रक्षा गर्नु पहिलो कर्तव्य हो । सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बद्ध निकाय यो जोखिमको बेला चनाखो हुनैपर्ने बेला आएको छ । एउटा सरकार जाने र अर्को सरकार बन्ने यो सङ्व्रmमणकालीन समयमा स्थायी सरकार प्रशासनिक संयन्त्रले सङ्घीय सरकारका सम्बद्ध अवयवलाई चुस्तदुरुस्त तुल्याउनु पर्छ । क्षति न्यूनीकरण तथा विपत्मा परेकालाई राहत र उद्धार अहिलेको मूल प्राथमिकता हुनुपर्ने छ ।