• १२ मंसिर २०८१, बुधबार

कांग्रेसले मन्त्री चयन गर्ने आधार तयार गर्‍यो

blog

काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय गरेको छ । 

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो । 

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताको आधारमा सरकारमा जाने मन्त्रीहरु छनौट गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

त्यसैगरी, बैठकले नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जनभन्दा बढी यात्रुहरु अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका सात जनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरी विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गरेको छ । 

साथै बैठकले युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

प्राकृतिक विपदमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको शोक सन्तप्त परिवारजनमा नेपाली काँग्रेसले  गहिरो समवेदना प्रकट गरेको पनि प्रवक्ता महतले बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘‘पहिलो छ–नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतीको सरकार गठन सम्बन्धि सहमती भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले) का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बजेजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ ।’’ 

काँग्रेसले सडक दुर्घटनाको अवस्था अन्त्य गर्न पनि पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनीकरणसम्बन्धी आवश्यक कानूनी व्यवस्थाका लागि पनि सरकारको ध्यानाकर्षण गरिएको जनाएको छ ।