• १२ साउन २०८१, शनिबार

हेटौँडामा मनाइयो भानुजयन्ती

blog

अनिल पराजुली

हेटौँडा, असार २९ गते। भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रभातफेरी तथा रचना वाचन गरी आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ। हेटौंडाको बसपार्क, बुद्धचोक, सीमा चोक हुँदै सोलिड्यारिटी इन्टरनेसनल माविसम्म प्रभातफेरी गरी रचना वाचन गरिएको हो। 

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भानु जयन्तीलाई प्रदेशमा मनाउनु सुखद् कुरा भएको भन्दै आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिनुभयो। 

देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा उहाँको जोड थियो । कवि, कलाकार र साहित्यकारहरू स्वप्नद्रष्टा भएको भन्दै प्रमुख शर्माले साहित्यमार्फत सुन्दर भविष्य निर्माणका लागि र नयाँ नेपाल निर्माणका लागि भूमिका खेल्न आग्रह गर्नुभयो।

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रमुख शर्माले हामीले पढ्ने रामायण र बोल्ने नेपाली भाषा उहाँकै देन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्त र उहाँको रचनाबारे चर्चा गर्नुभएको थियो। 

सोलिड्यारिटी इन्टरनेसनल माविका विनीता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपानेले भानुका विषयमा आफूले लेखेका रचना वाचन गर्नुभएको थियो। 

समारोहमा कवि मञ्जु खरालले भानु सम्बन्धी कविता वाचन गर्नुभएको थियो भने छन्दकवि पुरुषोत्तम आचार्यले रामायणका पाँच श्लोक वाचन गर्नुभएको हो। भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिका संयोजक हयग्रीव आचार्यको अध्यक्षता एवम् सहसंयोजक मसान उपासकको सहजीकरणमा कार्यक्रम भएको थियो।