• १६ भदौ २०८१, आइतबार

सूचना प्रविधि विकासको मेरुदण्ड

blog

गोरखापत्र समाचारदाता

ललितपुर, असार २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मुलुकको विकासको मेरुदण्डका रूपमा विकसित भइरहेको धारणा व्यक्त गर्नुभएको छ । 

सरकारले ‘सूचना प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रको विकासलाई तीव्रता दिएको चर्चा गर्दै उहाँले आगामी १० वर्षमा ३० खर्ब रुपियाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रूपमा  स्थापना गरिएको ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एन्ड डेभलपमेन्ट’ कार्यव्रmमको बिहीबार उद्घाटन गर्दै मन्त्री शर्माले सो जानकारी दिनुभएको हो । 

उहाँले यस केन्द्रको शुभारम्भले मुलुकको ‘डिजिटल ट्रान्सफर्मेसन’ मा मद्दत पुग्ने, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अनुुसन्धान, परामर्श, तालिम, क्षमता अभिवृद्धिका साथै सरकारले अपेक्षा गरेका सूचना प्रविधिका सबै कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले आइसिटीको महत्त्वलाई बुझेर यस क्षेत्रको विकासलाई अभियानकै रूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेटमा आर्थिक समृद्धिका लागि अगाडि सारिएको पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई प्राथमिकताका साथ समेटिएको छ । बजेटमा ‘आइसिटी दशक’ घोषणा गरिएको छ । १६ औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ ।”

चालु आव (२०८०/८१) मा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यव्रmम राखिए पनि विभिन्न कारणले सञ्चालन हुन नसकेको चर्चा गर्दै उहाँले सो कार्यक्रम आगामी आवमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले यस केन्द्रको विकासका लागि २२ करोड रुपियाँको कोष स्थापना गरिएको जानकारी दिनुभयो । ‘आइसिटी’ क्षेत्रको विकासका लागि सरकार र विश्वविद्यालयबिच सहकार्यको आवश्यकता औँल्याउँदै उहाँले यस क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा शशिधरराम जोशीले अध्ययन संस्थानले सामसङ कम्पनी, क्यानडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको जानकारी दिनुभयो । 

क्याम्पस प्रमुख प्राडा इन्द्रप्रसाद आचार्यले केन्द्रको स्थापना तथा सञ्चालनबाट सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले  केन्द्रको स्थापनाले मुलुकको ‘आइसिटी’ विकासमा मद्दत पुग्ने बताउनुभयो ।