• २ साउन २०८१, बुधबार

‘किटजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिउँ’

blog

काठमाडौँ, असार २७ गते । मनसुन बढेसँगै विभिन्न पानीजन्य तथा किटजन्य रोगको जोखिम बढ्ने हुनाले सतर्क रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मनसुनमा पानीजन्य तथा किटजन्य रोगको जोखिम उच्च हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुनको समयमा पानीजन्य र किटजन्य रोगको जोखिम बढ्ने गर्छ । अस्पतालमा पनि यो मौसममा यस्तो समस्या लिएर बिरामी बढी आउने गर्छन् ।”

यो समयमा दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड, भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य रोग बढ्ने डा. पुनको भनाइ छ । त्यो बाहेक ज्वरो आउने, पखाला लाग्नेजस्ता सङ्क्रमण रोगको जोखिम बढी हुने डा. पुनको भनाइ छ । 

झाडा पखाला लाग्ने, बान्ता आउने, ज्वरो आउने सङ्क्रामक रोगका प्रारम्भिक रोगका लक्षण हुन् । यो समस्या हेलचेक्राइँ गरेमा बिस्तारै समस्या बढेर विभिन्न अङ्गमा असर गर्छ ।

परीक्षण सीमित मात्र भएको कारणले गर्दा ज्वरो आउने, पखाला लाग्नेजस्ता थुप्रै सङ्क्रामक रोगको कारण पत्ता नलाग्ने उहाँको तर्क छ । दूषित पानी र बासी खानेकुराले यस्ता रोगको जोखिम बढ्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “झाडा पखाला लाग्ने, बान्ता आउने, ज्वरो आउने सङ्क्रामक रोगका प्रारम्भिक रोगका लक्षण हुन् । यो समस्या हेलचेक्राइँ गरेमा बिस्तारै समस्या बढेर विभिन्न अङ्गमा असर गर्छ ।” 

त्यस्तै, यो मौसममा डेङ्गु, चिकनगुनिया, मलेरिया, स्क्रब टाइफस, जिका भाइरस लगायतका किटजन्य रोग देखिने उहाँको भनाइ छ । किटजन्य रोगमा डेङ्गु वर्षैपिच्छे महामारीको रूप लिनेगरेको उहाँले बताउनुभयो । 

किटजन्य रोग विभिन्न किराहरू र लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । पानीजन्य र किटजन्य रोग जोखिममा ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घरोगीहरु हुने हुँदा सचेत रहन उहाँको सुझाव छ । 

यस्ता रोगको सङ्क्रमण हुँदा स्वास्थ्य अवस्था सामान्य भएमा चिकित्सकको सल्लाहमा औषधी खाएर घरमा आराम गरेर निको बनाउन मिल्ने उहाँको भनाइ छ । जटिल स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्था जान उहाँले सुझाव दिनुभयो । 

सङ्क्रामक रोग भएको बेलामा जथाभावी औषधी किनेर नखान उहाँको सुझाव छ । यसरी जथाभाबी औषधी खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने डा. पुनले सुझाव दिनुभयो । रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र पिउन उहाँले सुझाव दिनुभयो ।  

उहाँले भन्नुभयो, “पानीजन्य रोगबाट बच्न खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सडेगलेका, बासी, झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा राम्ररी सफा गरेर खानुपर्छ ।” 

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन उहाँको सुझाव छ । मनसुनका बेलामा कस्ता–कस्ता स्वास्थ्य समस्या निम्तन्छन् भन्ने विषयमा केन्द्रित भएर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गोरखापत्र अनलाइनका लागि तयारी पारिएको भिडियो संवादः

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।