• १२ साउन २०८१, शनिबार

तीनथानाको सरस्वती मूर्ति अमेरिकामा फेला

blog

अमेरिकामा फेला परेको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति ।

थानकोट, असार २६ गते । चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ । अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको निजी सङ्ग्रहमा रहेको सो मूर्तिको टाउको छैन । सो मूर्ति चोरीका क्रममा सरस्वतीको खुट्टा भाँचिएको थियो । सोही भाँचिएको सरस्वतीको पाउ चन्द्रागिरि तीनथानाको विष्णुदेवी मन्दिर क्षेत्रमा अझै छ । सोही पाउनजिकै सरस्वतीको अर्को मूर्ति प्रतिस्थापन गरी स्थानीयले पूजा गर्दै आएका छन् ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्त्विक महत्त्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्ट्स अफ नेपाल अभियानले अमेरिकी नागरिक रोबर्टको सङ्ग्रहमा रहेको सो मूर्ति प्रकाशमा ल्याएको हो ।

सातौँ वा आठौँ शताब्दीमा बनेको विश्वास लिएको सो मूर्ति १३० सेन्टिमिटर अग्लो थियो । मूर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ । हाल अमेरिकामा फेला परेको मूर्तिको उचाइ ९१.५ सेन्टिमिटर रहेको छ । वास्तुविद् कार्ल प्रुस्चद्वारा २०३२ सालताका खिचिएको सो मूर्तिको तस्बिर ‘काठमाडौँ उपत्यका, खण्ड २’ र उलिच भोन स्कोडरको ‘नेप्लिज स्टोन स्कप्चर्स, खण्ड १’ प्लेट नम्बर २२४ मा नैकापको यो मूर्तिको विवरण उल्लेख छ ।

नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा सो मूर्तिको तस्बिर लिनुभएको थियो । अमेरिकामा फेला परेको सो मूर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा ‘डेभिन प्रेजेन्सः आर्ट्स अफ इन्डिया एन्ड हिमालयज’ शीर्षकमा समावेश भएको सो अभियानले जनाएको छ ।