• १६ भदौ २०८१, आइतबार

बान्तवा भाषाको व्याकरण प्रकाशित

blog

त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बराल अनुसन्धानमूलक पुस्तक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तवाः अ बान्तवा ग्रामर’ सार्वजनिक गर्नुहुँदै ।

काठमाडौँ, असार २६ गते । पूर्वराजदूत प्रा.डा. नवलकिशोर राईको अनुसन्धानमूलक पुस्तक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तवाः अ बान्तवा ग्रामर’ मङ्गलबार सार्वजनिक गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पुस्तक सार्वजनिक गर्नुभएको हो । सो कृति बान्तवा भाषाको पहिलो व्याकरण मानिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) ले उक्त कृति प्रकाशन गरेको हो । कृति सार्वजनिक कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले नेपाल भाषा र संस्कृतिले सम्पन्न भए पनि उपयुक्त अध्ययनको कमी रहेको बताउनुभयो ।

उहाँले नेपालमा भाषाको वैज्ञानिक अध्ययनको उद्देश्यले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उपकुलपति बरालले भन्नुभयो, “व्यावहारिक विज्ञानलाई प्रवर्द्धन गर्न सक्ने हो भने यहाँ अध्ययन र अनुसन्धानको प्रशस्तै सम्भावना छ ।”

पछिल्लो समय त्रिविले अनुसन्धान कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै बरालले २२ करोडको अनुसन्धान कोष स्थापना गरेकोसमेत जानकारी दिनुभयो । भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवले राईको उक्त कृति भाषा तथा संस्कृतिको अध्ययनमा रुचि राख्नेका लागि निकै उपयोगी रहेको बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. जयराज अवस्थी, प्रा.डा. निर्मल तुलाधर, प्रा.डा. बलराम प्रसाईंलगायतले उक्त अनुसन्धनात्मक कृति इतिहासको दस्ताबेज बन्ने बताउनुभयो ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले सन् १९८४ मा विद्यावारिधिका क्रममा राईले गरेको अनुसन्धानलाई पुस्तकका रूपमा प्रकाशन गर्न पाउनु खुसीको विषय भएको बताउनुभयो । उक्त कृतिका अनुसन्धानकर्ता राईले विगतमा आफूले विश्वविद्यालयमै पेस गरेको थेसिसलाई कृतिका रूपमा प्रकाशन गरिदिएकोमा सिनास परिवारलाई धन्यवाद दिनुभयो ।