• ७ कात्तिक २०८१, बुधबार

‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष सो

blog

सन्तोष सुवेदी

कास्की, असार २६ गते । पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष सो सम्पन्न भएको छ । पोखरा ट्रेडमलको क्युएफएक्स सिनेमा हलमा विशेष सो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो।

अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको निर्मात्री एवम् निर्देशक अनिता पण्डितले बताउनुभयो । “पोखराको माया सोचेभन्दा बढी सफलता मिल्यो । झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाएँ,” उहाँले भन्नुभयो ।  

आफू इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उहाँले समाजका समस्यालाई सिनेमामार्फत् उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आफैँले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ,” उहाँले भन्नुभयो ।

अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको फिल्मकाे कथा अनिताले नै लेख्नुभएको हो । सिनेमामा अनितासँगै सुरबिना कार्की, अरनाबी ढुङ्गाना, मौसम खड्का लगायतको अभिनय देख्न सकिन्छ।