• १३ असोज २०८१, आइतबार

गाउँगाउँमा चित्तिम

blog

मुगुको माँग्री गाउँमा लामा समुदायले आफन्तको सम्झनामा निर्माण गरिएका चित्तिम । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, असार २६ गते । 
मुगुको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका हरेक बस्तीहरूमा धर्म कमाउनलाई चित्तिम बनाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी मान्दै आएका लामा जाती समुदायका बस्तीमा हजारौँ वर्ष पुराना आफन्तको सम्झनामा चित्तिम निर्माण गर्ने परम्परा रहेको हो ।

मुगुम कार्मारोङ गाउँपालिका जानकार समाजसेवी दोर्जी कार्मारोङका अनुसार गाउँको दोबाटो घुम्टीमा परिक्रमा हुने गरी आफन्तको नाममा धर्म कमाउने उद्देश्यले उक्त   चित्तिम बनाइएका हुन्छन् ।

चित्तिमलाई स्थानीय भाषा अनुसार खाम्वोचिक्वोछोर्देन भनिन्छ । परम्परागत चित्तिम बौद्ध धर्मावलम्बी अनुसार चित्तिम तान्त्रिक मन्त्रले बनाइएको हुन्छ । गजुरमा तीन तलाको निर्माण गरिएको जानकार लामाले बताउनुभयो ।  बौद्ध धर्म अनुसार चित्तिम बनाएपछि मान्छेको मृत्युपछि परलोकमा पापको नास हुने भएकाले परापूर्वकाल देखिनै चित्तिम बनाइँदै आएको पाइन्छ ।

चित्तिम जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाका बस्तीमा मात्र नभई उत्तरी चिनको तिब्बत क्षेत्र, हुम्ला र मुस्ताङमा पनि परापूर्व कालदेखिनै चित्तिम बनाइएको पाइन्छ उहाँले बताउनुभयो ।

मुगुम कार्मारोङ गाउँपालिका वडा नं– ९ का स्थानीय पाल्जु कामीका अनुसार एउटा चित्तिम बनाउन ५० देखि ७० हजारसम्म खर्च लाग्ने गरेको छ । चित्तिम ढुङ्गा र माटोले निर्माण गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

सडकको पहुँचले नछुएको मुगुम कार्मारोङ गाउँपालिकाका गाउँ भने आफ्नै परम्परागत रूपमा रमाइरहेको छ । रातो माटो र सेतो कमेरोले पोतिएका टलक्क टल्किने ढुङ्गे घर सबैलाई मोहित बनाउँछ । बाक्लो बस्ती र प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुम कार्मारोङ  गाउँपालिकाका बस्तीमा पर्यटकीय सम्भावना बोकेको छ ।

परम्परागत संस्कृति बोकेको मुगुम कार्मारोङ गाउँपालिकालाई पर्यटकीय गाउँ बनाउने प्रयास थालेको छ मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।

गाउँको मौलिक सुन्दरता, परम्परागत संस्कृतिलाई जोगाइ राख्न र पर्यटकका लागि थप पूर्वाधार विकास गर्न सके भविष्यमा मुगुम कार्मारोङ गाउँपालिकावासीले पर्यटन क्षेत्रबाट ठुलो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।