• ७ कात्तिक २०८१, बुधबार

तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास

blog

सन्तोष सुवेदी

कास्की, असार २६ गते । विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास गरिएको छ । तेस्रो परियोजना दोविल्ला-बाधमारा-तिक्लाङ्ब-डहरकोट-लामगाडी-चापलाङ-उपल्लो पुडिँटार-तल्लो पुँडीटार-झिगटे (जनजागृती मा वि) तगारेगौडा-तल्लो गगनगौडाँ सडक अन्तर्गत कालिकास्थान-पुँडीटार-लामेआहाल सडकको शिलान्यास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैङ्कका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त रूपमा गर्नुभएको हो ।

सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो बाटो पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोधहरू तत्काल समाधान गरिनेछन् । यसको समय पनि छोटो छ, स्थानीयहरूले यसका आवश्यक सहजीकरण गरिदिनुहुनेछ,” उहाँले भन्नुभयो । 

उक्त क्षेत्रको सहरी पूर्वाधार निर्माण गर्दै जनजीवनलाई विकाससँग जोड्ने कुरामा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । यो पोखरा महानगरपालिकाको परियोजना भएकाले दायित्व पनि महानगर कै हुने र आवश्यक परेका बखत मन्त्रालयले आवश्यक सहजीकरण गरिदिने उहाँले बताउनुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिनुभयो । विश्व बैङ्कका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गर्नुभयो ।

सडकको निर्माण कम्पनी आसिस निर्माण सेवा प्रालि भरतपुरसँग सम्झौता भएको छ । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं ३३ को कार्यालय देखि उपल्लो पुँडीटारसम्म ९।६२७ किमी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखि तल्लो गगनगौडाँ (पृथ्वीराज मार्ग) सम्म २.८१३ किमी सडक निर्माण हुनेछ ।

परियोजना अन्तरगत करिब १२.४४ किमी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २-२ मिटरको फुट ट्र्याक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्वेको काम सुरु भइसकेको छ । 

तीन अर्ब आर्थिक सहायता मध्ये तालचोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम नगर प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु भएको थियो । विश्व बैङ्कको सहयोगमा शिशुवा-शिशाघाट सडकको समेत काम थालिएको छ ।