• १२ साउन २०८१, शनिबार

महुरे-फोक्सिङटार सडक कालोपत्रेको लागि टेण्डर आह्वान

blog

गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने महुरे–फोक्सिङटार सडक खण्डको अवस्था ।

राजकुमार भट्टराई

खोटाङ, २६ असार । अलपत्र परेको खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रे आयोजनाको पुनः ठेक्का खुलाइएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर पुनः अर्को ठेक्का खुलाइएको हो ।

गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने महुरे–फोक्सिङटार सडक कालोपत्रेको लागि असार २५ गते पुनः अर्को ठेक्का आव्हान गरिएको छ । महुरे–फोक्सिङटार सडकलाई २०७७ सालसम्ममा सम्पन्न गर्नेगरी दुई खण्डमा विभाजन गरेर २०७३ सालमा ठेक्का खुलाइएको थियो । त्यसमध्ये महुरे–सिमपानी राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी र सिमपानी राजापानी–फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले लिएको थियो । तर, ठेकेदारले वर्षौँ अलपत्र पारेको दुवै प्याकेजको ठेक्का तोडेर नयाँ ठेक्का खुलाइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका इन्जिनियर नारायणबहादुर थापाले बताउनुभयो । 

हालसम्म खर्च गरेर बाँकी रहेको रकमबाट पुरा गर्नेगरी नयाँ ठेक्का खुलाइएको हो । २०८० चैत २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालयले अलपत्र महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुचारु गराउनका लागि ठेक्का खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । ठेकेदारले सडक कालोपत्रेको काम अलपत्र पारेपछि सिमपानी राजापानी–फोक्सिङटार खण्डको ठेक्का २०७९ पुस ८ गते र महुरे–सिमपानी राजापानीको ठेक्का २०८० माघ २ गते तोड्ने निर्णय गरिएको थियो । ठेक्का तोड्ने निर्णय विरुद्ध भारत कन्ट्रक्सन-सिद्धी शाही सर्वोच्च र देवनारायण पवन-मैनाचुली-खाम्पाचे रिट हाल्न उच्च अदालत पुगेको थियो । 

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीले करिब ५० प्रतिशत भौतिक प्रगति सकेपछि आयोजना अलपत्र पारेको थियो । यस्तै, देवनारायण पवन-मैनाचुली-खाम्पाचेले ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने सर्तमा २०७३ साउन ११ गते सिमपानी भन्ज्याङ–फोक्सिङटार सडक कालोपत्रेको सम्झौता गरेको थियो । 

महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । कालोपत्रेको काम अलपत्र हुँदा सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । अविरल वर्षाका कारण सडक हिलाम्मेहुँदा हाल उक्त सडकबाट सवारी साधन आवागमन बन्द छ ।