• ७ कात्तिक २०८१, बुधबार

गुल्मी पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा

blog

जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणापश्चात सम्मान पत्र प्रदान गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २६ गते । गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरूले लगाउनुपर्ने सम्पूर्ण खोपहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।  

गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते  नेपालमै सातौँ जिल्लाको रूपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरू पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पूर्ण खोप दिगोपना सुनिश्चितताको प्रमाण पत्र जिल्ला खोप समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीलाई प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले आगामी दिनहरूमा पनि खोपको सुनिश्चितता गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।  

पूर्ण खोप दिगोपन सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरू निर्माण गरिएको छ । प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन,  खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अद्यावधिक र छुट बच्चाहरूलाई खोप प्रदान गरिने गरेको  आचार्यले जानकारी दिनुभयो ।

लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि  स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने  पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले बताउनुभयो ।

खोप कार्यक्रमले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङ्कार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापनिज इन्सेफलाइटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बि नियन्त्रण साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । 

गुल्मी जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।