काठमाडौँ, असार २५ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुकसँग शिष्टाचार भेट गर्नुभएको छ । हालै भुटानमा भएको उक्त भेटमा उहाँहरूबिच सार्कका गतिविधि र आगामी योजनासम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।
सार्कको नयाँ महासचिवमा सरवारको भूमिकाको प्रशंसा गर्दै भुटानी नरेशले सार्कलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबिच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पना साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउनेबारे विचार आदानप्रदान गर्नुभएको सचिवालयले जनाएको छ ।
यही असार १८ देखि २२ गतेसम्म गर्नुभएको भुटान भ्रमणका क्रममा महासचिव सरवारले सार्क विकास कोष (एसडिएफ) को सचिवालय अवलोकन गरी सार्कका आठ वटै सदस्य राष्ट्रमा एसडिएफका आयोजनामा आधारित गतिविधिबारे पनि छलफल गर्नुभएको सचिवालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।