• २० असोज २०८१, आइतबार

बाढीले विस्थापितलाई राहत उपलब्ध गराइँदै

blog

पुनर्वास नगरपालिकामा भएको डुबान ।

अविनाश चौधरी

धनगढी, असार २४ गते । बाढी, डुबानका कारण विस्थापित भएका कञ्चनपुरका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन सुरु गरिएको छ । उद्धारको काम सकिएपछि खाना खुवाउनेदेखि अन्य राहत सामग्री उपलब्ध गराउन थालेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । 

“हाम्रो पहिलो प्राथमिकता विपत्मा परेका सबैको उद्धार गर्नु थियो । हिजो रातभरि उद्धार कार्यमा खटेका थियौँ” उहाँले भन्नुभयो, “उद्धारको काम सकिएपछि अब विस्थापितलाई खाना खुवाउनेदेखि अन्य राहत सामग्री उपलब्ध गराइरहेका छौँ ।”

महाकाली र चौधर नदीको बाढीले कञ्चनपुरमा हजारौंं घर डुबानमा परेको छ । एक हजार ७६७ जना विस्थापित भएका छन् । जिल्लास्थित विपत् व्यवस्थापन टोलीले ५११ घरपरिवारका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । 

टोलीले घरको छाप्रोमा बसेका २९ जनाको राति उद्धार गरेको छ । डुब्नै लागेको अवस्थाबाट उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । 

कञ्चनपुरमा यसअघि पनि महाकाली र चौधर नदी किनारको बस्ती डुबान समस्या भोग्दै आएको थियो । यस पटक बाढी, डुबान समस्या फरक ठाउँमा देखिएको जोशीले बताउनुभयो । उहाँका अनुसार यसपालि, भीमदत्त नगरपालिकाको बजार क्षेत्र, सालघारी, भगतपुर, ऐठपुर, वेदकोट नगरपालिका, दोधाराचाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रमा डुबान समस्या छ । 

“विगतमा महाकाली किनारको भुजेला क्षेत्र र चौधर नदी किनारको बस्ती बाढी, डुबानको चपेटामा पर्ने गर्दथ्यो” सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “यो वर्ष अन्य क्षेत्रमा बढी समस्या देखियो ।”

कञ्चनपुरमै चौधर नदीको बाँध फुटेर बेलडाँडी क्षेत्र जलमग्न भएको छ । यसैगरी, दोदा नदीको बाढीले पुनर्वास नगरपालिकामा डुबान भएको छ ।