• १० मंसिर २०८१, सोमबार

म आजाद भएँ (कथा)

blog

नव बेहुला राजिव र म बेहुली रक्षा एउटै ओछ्यानमा सुतेका छौँ । मेरो  निन्द्रा रातिसम्म पनि परेको छैन । जिउमा आगो सल्किरहेको छ, सँगै मनमा पनि । जवानीको उन्मादले जिउमा आगो सल्केर असिनपसिन छु । मनमा शङ्का र चिन्ताको आगो भएर भुवा उडे जसरी उड्दै छन् । खै कस्तो आगो ? नव बेहुला राजिवलाई गलाउन नसक्ने । खै कस्तो प्रेम ? जवानीको आगो दनदनी बलेको बेलामा पनि तातो नहुने । 

आधारात कटिसक्यो किन मलाई आफ्नो अँगालोमा कसेर बेर्न सकेनन् ? टम्म उठेको छाती किन राजिवको सिरानी बन्न सकेको छैन ? चोलीको तुना रातभरि कसेकै हुन्छ, फुस्काइदिने हात टाढा टाढा हुन्छन् । कतै लोग्ने तेस्रो लिङ्गी त परेनन् ? कि मसँग बिहे गरेर चित्त फाटेको छ ? या अरू कोही केटीलाई मनमा त राखेका छैनन् ? हजारौँ प्रश्नको खात लागेका छन् मेरो मनमा । उत्तर कहाँ खोज्ने ? कसबाट खाज्ने हो ? एक मनले त आफैँ राजिवको गालामा बिस्तारै म्वाइँ खान मन लाग्छ । तर लाजले आँट कमजोर बनाइदिन्छ । थाहा नपाउने गरी आफ्नो शरीर राजिवकोमा जोड्न पुग्छु । त्यो छुवाइले राजिवको शरीरमा आगो बल्नुपर्ने हो र नव विवाहित जोडी एकअर्कामा फेबिकल जस्तो चपक्क टाँसिएर बिलाउनुपर्ने हो । तर त्यस्तो हँुदैन । खै ! राजिवको मर्दाङ्गी कहाँ हराएको छ । मुर्दा जस्तो जिउ उनको, न त हलचल न त बोलचाल । झन म गर्मीले पानी पानी हुन्छु । आफूसँग सिङ्गो जोडी भएर पनि शरीरबाट टाढा टाढा भएर रातभरि जाग्नुपर्ने । उनलाई सोध्न मन लाग्छ, तपाईंंलाई मसँग सुत्न मन लाग्दैन ? छल्केको जवानीको रस पिउन मन लाग्दैन ? उर्लेको बैँसको नदीमा पौडिन मन लाग्दैन ? तर आँट नै आउँदैन महिना दिनसम्म । 

बिहेको भव्य तयारी भएको सम्झिन्छु । बिहेको निम्तो वैशाखे सिमलको भुवा जस्तै नाता कुटुम्बको घरघरमा पुगेको सम्झन्छु । दुलही रक्षा र दुलाहा राजिव लेखेको निम्तो सम्झिन्छु । बिहेको घरको आँगनमा सजिसजाउ भएको ध्वजापताकाको रङ्ग दिन प्रतिदिन धमिलो हुँदै जान्छ । जसरी बिहेको स्वागत गेटको छेउछाउमा गाडिएको केराको पात दिन प्रतिदिन पानी नपाई सुक्दै जान्छ, त्यसरी नै मेरो जिन्दगीको रहरको बोट पनि सुक्दै गइरहेको मलाई आभाष हुन्छ । कति दिन बिते कति महिना बिते यस्तै रात काट्न थालेको मैले । कति दिन सहनु, धेरै आँट गरेर त्यो रात सोधेँ, किन तपाईंं सधैँ मबाट परपर भाग्नुहुन्छ ? के म तपाईंको मायाको लायक छैन र ?  तिमी मेरो मायाको लायक छौ रक्षा तर म तिम्रो मायाको लायक छैन ।

म फेरि प्रश्न गर्छु के जिन्दगीभरि यसरी नै रात कटाउनुहुन्छ ? कहिलेसम्म मैले तपाईंको मायाको आसमा रात काट्नु पर्छ ? राजिवको एक अनौठो उत्तर ‘जबसम्म तिमी  मबाट मायाको आस गर्छौ सायद तबसम्म यस्तै रात काट्नु पर्छ तिमीले । किन मसँग बिहे गर्नुभयो ? कि तपाईंको अरू कोही छ मेरो प्रश्न । अरू कोही पनि छैन मेरो । म त जिन्दगीभरि बिहे नगर्ने भनेको थिएँ । तर बाध्यता उफ्  त्यो बाध्यताको सिकार तिमी बन्यो मलाई धेरै दुःख छ रक्षा । 

रुन्चे स्वरमा मैले प्रश्न फेरि राजिवतिरै तेस्र्याउँछु, “अनि के मेरो कोख जिन्दगीभरि शून्य नै रहन्छ त ? मेरा इच्छा चाहनाहरू मेरै आँखा अगाडि छटपटाइरहेको टुुलुटुलु हेरिरहँु त ?” सायद यस्तै सोच... राजिवले यति मात्रै बोल्यो । मेरो आँखामा आँसुको बाढी आउन थाल्यो । अर्कोपट्टि कोल्टे भएर सँुकसुँक रुन थालेँ । मन लाग्यो राति नै भागेर जाऊँ । तर आफ्नो र आमाबुवाको इज्जत सम्झिन्छु । मनमनै राजिवलाई सराप्छु, आफ्ना आमाबुवालाई सराप्छु र आफ्नो जिन्दगीलाई सराप्छु । यस्तो नामर्द लोग्ने दिनुु थियो भने किन यो जिउमा पहाड जस्तो छाती उमा¥यो ? जिउमा किन बैँसको रस भरिदियौ ? पुरुषत्वको मगमगाउने बास्नाले तनभरि उत्तेजनाको काँडा फुलाउने फूलमा किन सिञ्चित ग¥यो ? आमाबुवा, सासूससुरा र खुद ममा बच्चा जन्माउने आस र क्षमताको बिउ किन छर्किदियौ ? सासूलाई नातिनातिनाका लागि सानो सानो लुगा, सानो सिरानी, सानो सिरक, सानो डसना बनाउने जाँगर किन दियौ ? ससुरालाई काठको अनेकन खेलौना, सानो पिर्का, झुलुङ्गे बनाउने सिप किन दियौ ?

जति जति ममा बच्चाको चाहना र घरपरिवारको दबाब आउँथ्यो त्यति त्यति नै राजिवप्रति असन्तोष बढ्दै जान थाल्यो । लोग्नेप्रतिको माया घट्दै जान थाल्यो  । रिस र घिन बढ्दै जान थाल्यो  । राजिव चुपचाप सहेको छ । घरमा दिनदिनै कचकच, स्वास्नीको कचकच, आमाबुवाको कचकच अशान्तिको डङ्गुरै डङ्गुर हुन्छ घरमा पनि । मेरो मन बेचैन हुन्छ । यदि म मन नपरेको भए प्रस्टै भनिदिनु । व्यर्थमा मलाई तनावको भारी बोकाएर आखिर कति दिन यसरी चल्छ र जिन्दगी । आखिर सुरुमा मलाई माग्न जाँदा उनि पनि त गएका थिए । मन परेको छ भनेर सोध्दा लजाएर मन परेको छ भनेको त थिए नि । फेरि यति नजिक भएर पनि मप्रतिको लगाव किन कम ? बुझ्नै सक्दिनँ । 

बिहे भएको आज ठिक एक वर्ष भयो । बिहेपछि झन् नजिक हुनुपर्ने हो हामी तर खै ? उनको माया पाउनुपर्ने त मेरो अधिकार हो । किन यति लाचार छन् राजिव म बुझ्न सकिरहेको छैन । आफूले मन पराएको मान्छे पाउँदा त झन् आत्मबल पलाउनुपर्ने । मनमा शक्ति आउनुपर्ने । तर खै, त्यो आत्मबल ? सन्तान दुई पतिपत्नी बिचको सुन्दर रचना हो भन्छन् ।  तर खै त्यो सहयोग ? उनकै सहयोगबिना म उनको बुवाआमालाई कसरी नाति नातिना दिलाउँ ? दिनप्रतिदिन दोष जति मैमा थुप्रिन्थ्यो । मेलापात, घाँसदाउरा, पानीपँधेरा, गाउँसहर जाँदा मान्छेहरूले मलाई इसारा गरेर कानेखुसी गर्थे । एकचोटि त आफ्नै कानले सुनेको यो त बाँझी हो भन्ने कुरा । मन धेरै रोयो राजिवप्रति नराम्रो गरी वितृष्णा पलायो । त्यो घरमा बस्नै मन लागेन । माइतीको आमाबुवाको न्यास्रो र मन बहलाउन भनेर माइत गएँ । आँगनमा आमालाई देख्नेबित्तिकै झम्टेर रुन पुगेछ । आमाले के भो के भो भन्दा हिँक्क हिँक्क रुवाइ मात्र आइरह्यो । बोली नै निस्केन । आमाको अँगालोमा रुन पाएर मन हल्का भयो । बुवा आउनुभयो । म किन रोएको भन्ने कुरा आमाको आँखामा प्रश्न  प्रस्टै देखिन्थ्यो । फेरि सोध्नुभयो केही बोल्न मन लागेन ।  भित्रैबाट आँट गरेर यो चोटि चाहिँ भन्ने आँट गरेँ । बुवाआमा निकै दुःखी हुनुभयो । छोरीको पीडा देखेर र त्यस्तो परिवारमा छोरी दिएकोमा पश्चातापको धर्का पनि देखिन्थ्यो । शारीरिक पीडाभन्दा मानसिक पीडा कैयौँ गुणा ठुलो र पीडादायी हुँदोरहेछ । एउटी महिलाका लागि समाजमा अनेक लाञ्छना सहेर बस्न कति कठिन हुँदो रहेछ । यो कुरा कहाँ बुझ्दा हुन् र पुरुषहरूले । फर्केर घर जान पटक्कै मन थिएन तर के गर्नु छोरीको जात परियो । एक मनले त भन्दै थियो माइतबाटै कतै भागेर जाऊँ कि । फेरि आफ्नो र माइतीको इज्जत सम्झे र पाँच दिनको बसाइपछि फर्केर घर गएँ । सासूससुराले मसँग बोल्न छोडिसकेका थिए । राजिव आफ्नै एकलकाँटे जिन्दगीमा रमाउँदै थिए, कि रमाएको नाटक गर्दै थिए । 

बेलुकीको खाना खाइवरी कोठामा गएँ । राजिव साथीहरूसँग गएका थिए । राति  ११ बजेतिर ढकढक ढोकाको आवाज आयो । ढोका खोल्न गएँ । उनी मेरो अगाडि ठिँग उभिएका थिए र उनको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । केही नबोली आए । उनी पनि आए । म ओछ्यानमा बसेकी थिएँ । उनी पनि आएर टुसुक्क मसँग टाँसिएर बसे । एक किसिमको अनौठो महसुस भयो मलाई । शरीर झङ्व्रिmत भयो । कता कता उनको त्यो छुवाइले मलाई मदहोस बनायो, आनन्दित तुल्यायो । धमिलो बत्तीको मलिन प्रकाशमा हाम्रो आँखा जुधिरहेको थियो तर ओठहरू बन्द थिए । मौनता छाएको थियो ।  पहिलो उनकोे स्पर्शले म लज्जावती फूल जस्तै भएकी थिएँ । निःशब्द, लोेलाएका आँखा, काँप्न थालेका हात मेरो हातमाथि परिरहेको थियो । म पूर्ण रूपमा गलिसकेकी थिएँ । भित्री मनमा राजिवरूपी हाँगामा मेरो माया पलाउँदै गइरहेको थियो । मनमनै सोचे आज राजिवको मर्दाङ्गी कहाँबाट पलायो । र भित्र भित्र खुसी पनि लाग्यो । उनी मेरो हातलाई बेस्सरी थिच्थे त कहिले नरम तरिकाले सुम्सुम्याएँथे । त्यो छुवाइले पनि म आनन्दित भइरहेकी थिएँ । राजिवको हात अब मेरो अरू अङ्गतिर सलबलाओस् भन्ने लाग्थ्यो तर उनको हात मेरो हातबाट अन्त जान मानिरहेको थिएन । म पल्टिएँ उनी पनि मेरो छेउमा पल्टिए । आँखा जुध्यो तर बोली फुटेन । एकछिन पछि उनको बोली फुट्यो । रक्षा म तिमीलाई केही कुरा भन्न चाहन्छु ।  लजाउँदै भने के कुरा हो भन्नु न । उनको मुखबाट बोलीहरू निस्कन्छ । तिमी अब मेरो प्रेमको आस नगर, म तिम्रो प्रेमको लायक छैन रक्षा । तिमी आफ्नो बाटो रोज्न सक्छौ । म अक्क न बक्क परेँ । के भन्नु भएको यो ? जुरुक्क उठेँ । उनी फेरि भन्न थाले, म तिमीलाई धोका दिन चाहन्नथेँ, तिम्रो जिन्दगी मैले गर्दा बर्बाद भयो । म तिमीप्रति केही गर्दा पनि आकर्षित हुँदिनँ रक्षा । मैले भने अनि कोप्रति आकर्षित हुुनुहुन्छ त ? उनी आफ्नो मोबाइल झिक्दै एउटा फोटो देखाउँछन् । त्यो फोटो उनकै र एउटा केटा मान्छेको थियो । जसमा दुवै जनाले अँगालो मारेर किस गरिरहेका थिए । म छक्क पर्छु । उनी थप्छन्, मेरो विशाल, मेरो सबथोक हो । म समलिङ्गी हुँ । बुवाआमाको दबाबले गर्दा तिमीसँग बिहे गर्न बाध्य भएँ । त्यसको सिकार तिमी बन्यो । मेरो मायाको निम्ति तिमीले सबथोक त्याग्यौ रक्षा । मैले तिमीलाई माने कति धैर्यवान् नारी, कति सहनशीलता छ तिमीमा । म यो कुरा तिमीलाई पहिल्यै भन्न चाहन्थेँ तर आँट नै आउँदैनथ्यो र तिमीले सोधेकी पनि थियौ । तिमी मेरो मायाको निम्ति मेरो एक स्पर्शका लागि कति तड्पेकी छौ त्यो म बुझ्न सक्छु । तर मेरो बाध्यतालाई बुझ रक्षा । उनी ऐनतेन बोल्दै जान्छन् म सुन्न बाध्य हुन्छु । आँखा तिरमिराउँछ । आफ्नै जिउ भारी भारी हुन्छ । रिँगटा लाग्छ । बेहोस हुन मन लाग्छ, हुन सक्दिनँ । मर्न मन लाग्छ, मर्न सक्दिनँ । भक्कानिएर रुन मन लाग्छ, रुन सक्दिनँ । भाग्न मन लाग्छ, पैतला सर्दैनन् । खाली यो परिवारले मलाई गरेको छल र धोका मात्र याद आउँछ । बुवाआमालाई सम्झिन्छु मन छियाछिया भएर आउँछ । 

घडीमा रातको १२ बजिसकेको रहेछ । बाहिर आँधी हुरीले घर हल्लाइरहेको थियो । घरभन्दा पनि मेरो मन बेसी हल्लिरहेको थियो । मैले भनेँ भो अब जे गर्नु छ भोलि गरौँला । यति ठुलो धोका, छल भयो ममाथि । एउटी निर्दोष नारीमाथि धेरै अन्याय गर्नुभयो । हे ! भगवान् मेलै कुन जुनीमा के पाप गरेकी थिएँ भनेर रुँदै भनेँ । जसोतसो त्यो रात बित्यो । बिहानको भाले बासेसँगै म पनि उठेँ । 

बाटोमा हिँड्ने मानिसहरूको चहलपहल सुरु भइसकेको थियो । आकाश चारैतिरबाट बादलले घेरिएको थियो । भीषण आँधी हुरी आए पनि आकाशको बादल फाट्न सकेको थिएन । जसरी मेरो मनमा भएको कालो बादल फाट्न सकेको थिएन । बरु पानीले खप्टिएर बाक्लिँदै थिए चारैतिर । धर्तीमा रहेको स्वतन्त्र पन्छीहरू छटपटाउन लागे चाराबाट वञ्चित हुनु पर्ला भनेर । मानिस दौडधुप गर्न लागे, आआफ्नो थातथलोमा जानलाई । मलाई भने पानीमा भिज्छु भन्ने केही सोच पिव्रmी छैन । न त आफ्नो थात र थलोमा जानु छ भन्ने पीर छ ।  म खुला आकाशमुनि हात फिँजाएर आनन्दित पाराले उभिरहेकी छु दर्के झरीमा । शिरदेखि पैतलासम्म पानीले निथु्रक्क भिजेकी छु । म मेरो आँसुसँगै जीवनमा मैले पाएका छल, धोका र पीडा यही पानीमा पखालिरहेकी छु । चिच्याएर भन्दै छु म आजाद भए ! म आजाद भएँ ।