• २० असोज २०८१, आइतबार

तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

blog

अविनाश चौधरी

धनगढी, असार २३ गते। सुदूरपश्चिम प्रदेशमा चार वटा नदीले सतर्कता तह पार गरेको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली, दोदा, मोहना र खुटिया नदीले सतर्कताको तह पार गरेको हो। 

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले चार नदीहरूले सतर्कताको तह पार गरेको खबर गरेपछि केन्द्रले जोखिममा रहेका समुदाय र तल्लो तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह गरेको छ। 

शुक्रबारदेखि असार २४ गते सोमबारसम्म सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रमा भारी वर्षाको अनुमान रहेकाले सर्वसाधारण तथा विपतमा खटिने सबै मन्त्रालय, जिल्लास्थित विपत् व्यवस्थापन समितिहरू, स्थानीय तहहरू तथा सबै सरोकारवालालाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ। 

यसैगरी, पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहने हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न थालेमा सतर्क रहन सम्बन्धित क्षेत्रवासीलाई आग्रह गरिएको छ। 

बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिमको आङ्कलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ। 

यसैगरी, बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गरेर जानकारी लिन, विपत्मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान दिन आग्रह गरिएको छ। 

सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार, राहतका लागि तयारी अवस्थामा रहन केन्द्रले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।