• १९ असोज २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौँ, असार २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतबार काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो । 

जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट सुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूलअक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्ति दर्शन गर्नुभएको थियो । जगन्नाथलाई भगवान् श्रीविष्णुको रूपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार एक पटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई सहर हेर्ने इच्छा व्यक्त गर्नुभयो ।

त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना सहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा गए र त्यहाँ ७ दिन बसेको जनश्रुति छ । 

सहरको भ्रमण सकेर पुरी फर्किए । त्यसबेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर सहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर गए । यीमध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बिचमा र जगन्नाथको रथ पछाडि रहने परम्परा छ ।