• १९ असोज २०८१, शनिबार

नारायणीमा अहिलेसम्मकै ठुलो बाढी

तटबन्धनका कारण नदी किनारका बासिन्दा सुरक्षित

blog

नारायणी नदीमा आएको बाढी । तस्विरः शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार २३ गते । केही दिनदेखि अविरल रुपमा परेको भारी वर्षाका कारण नारायणी नदीमा अहिलेसम्मकै ठुलो बाढी आएको स्थानीयको भनाइ छ । 

भरतपुर –१ नारायणगढ निवासी रमेश खड्की नारायणी नदीमा आएको यति ठुलो बाढी इतिहासकै ठूला बाढी भएको बताउनुभयो । नारायणी नदी किनारमा आइतबार बिहान भेटिनुभएका खड्कीले भन्नुभयो, “मलाई लाग्छ त्यो २०१८ साल थियो । यस्तै प्रकृतिको बाढी आएको थियो । अहिलेको रेडक्रस चोकमा कच्ची सडक थियो त्यहाँसम्म पानीको छाल आएको थियो ।”

५० वर्षदेखि नारायणगढमै सुनचाँदी व्यवसाय गरी बस्दै आएका विद्यमान शाक्यले यस्तो बाढी आफूले अहिलेसम्म नदेखेको बताउनुभयो । उहाँले पुरानो कुरा बिर्सने र तत्काल भएका घटनालाई ठुलो मान्ने मानवीय तर्कको खण्डन गर्दै यसरी माथिसम्म उर्लिएको मैले यसअघि देखेको थिइनँ, भन्नुभयो ।

भरतपुर –२ क्षेत्रपुरका नन्दलाल पौडेलको तर्क पनि उस्तै छ । २०३८–३९ सालदेखि भरतपुर –२ मिल्स एरियामा बस्दै आउनुभएका उहाँले भन्नुभयो “नारायणी लिफ्ट सिँचाइमा बाँधबाट नै पानी कटेको मैले अहिले पहिलोपल्ट देखें । हामी नारायणी बढ्यो भनेर हेर्न पहिला त्यही ठाउँमा पुग्ने गर्दथ्यौं ।”


भरतपुर २ पोखरा बसपार्कका बद्री अधिकारीले पनि आफ्नो लामो अनुभव सुनाउँदै भन्नुभयो, “मैले नदीमा यत्ति ठुलो बाढी यसअघि कहिल्यै देखेको थिइनँ । नदी उकासियो या नदीमा यसभन्दा अगाडिको भन्दा बढी पानीको मात्रा बढी भयो ती दुई कुरामा एउटा हुनुपर्छ ।” 

स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दा सामान्यतया यो कुरा पुष्टि हुन्छ कि नारायणी लिफ्ट बन्नुपूर्व अधिकांश नारायणगढवासीलाई सोही लिफ्टको मुहान क्षेत्रबाट नारायणी नदी नारायणगढ बजार क्षेत्रमा प्रवेश गर्न सक्ने आँकलन हुन्थ्योे । २०३७–३८ मा बनेको उक्त लिफ्ट सिँचाइको सो क्षेत्रलाई नाघेर यसअघि नदीको पानी बगेको थिएन भन्ने स्थानीयको भनाइ छ । आइतबार विहान ७ः१० बजे गरिएको सतह मापनमा पानीको सतह केही कम देखिएको छ । जल मापन केन्द्रले देवघाटमा गरेको मापनमा आठ मिटर ७० सेन्टिमिटर देखाएको छ ।

नारायणी नदी पुलमा गरिएको मापनमा ११ मिटर ६९ सेन्टिमिटर सतह देखिएको छ ।  देवघाटमा शनिबार अपराह्न ४ बजेदेखि राति अबेरसम्म नदीको सतह खतराको अवस्थामा थियो । 

शनिबार अपरान्न ६ः५० बजेको मापनमा देवघाट स्टेशनमा नदीको सतह १० मिटर ४६ सेन्टिमिटरसम्म पुगेको थियो । जवकी उक्त स्टेशनमा नदीको सतह नौ मिटरभन्दा माथि भए खतराको सङ्केतको रुपमा लिने गरिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दै यति ठूलो बाढी इतिहासमा पहिलोपल्ट आएको बताउनुभयो । 

उहाँले नदी किनारमा बनेको तटबन्धनका कारण यस पटक चितवनतर्फको भूभाग कटान र डुबानको ठलो समस्या अहिलेसम्म नदेखिएको आँकलन गर्नुभयो । तर पनि भरतपुर १७ गोब्रेनी क्षेत्रका १७ घरधुरी, भरतपुर ३ को हाम्रो घर नामको संस्था रहेको नगरवन क्षेत्रमा नदीको पानी पसेर त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

नदीमा आएको बाढीले भरतपुर ३ नगर वन जाने नारायणी नदीको भंगाला पार गर्न बनाइएको झोलुङ्गे पुल बगाएको छ । उक्त पुल झण्डै २० वर्ष अगाडि निर्माण गरिएको थियो ।


नदीमा तटबन्धन नबन्दाको बखत भरतपुर ३, ४, १६, १७, २६, २७ र २८ का नदी किनारका बस्ती नारायणी नदीमा आएको बाढीले कटान, डुबान पार्दै आएका क्षेत्र हो  । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभागले नारायणी नदी व्यवस्थापन आयोजनामार्फत चितवन र नवलपरासी क्षेत्रमा गरी झण्डै आठ अर्बको लागत अनुमानमा नारायणी नदीमा तटबन्धन गरेको छ । तटबन्धनले स्थानीयलाई सुरक्षित महसुस गराएको छ ।