• १९ असोज २०८१, शनिबार

सेती किनारका पाँच घर विस्थापित

blog

सेती नदी। फाइल तस्बिरः फडिन्द्र अधिकारी

लेखनाथ, असार २२ गते। अविरलको झरीले सेती नदीमा बाढी आएपछि पोखरा महानगरका पाँच घर विस्थापित भएका छन्। पोखरा–१४ गोष्ठी टोलको सेती नदीको किनारका पाँच घरका बासिन्दा विस्थापित भएका हुन्।

नदीले घर भत्काउने जोखिम भएपछि पाँच घरका २३ जनालाई सुरक्षित स्थानमा सारिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो। विष्णुमाया सुनुवार, डोल्मा शेर्पा, शुकदेव गुरुङ, डावा शेर्पा र काजी शेर्पाको परिवारलाई टोल विकास संस्थाको भवनमा लगिएको हो। 

जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार दिउँसो सूचना निकालेर सतर्क हुन आग्रह गरेको छ। भारी वर्षा निरन्तर भइरहेको र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन निरन्तर भारी तथा मध्यम वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो। 

विपद्का घटना भए प्रशासन, जनप्रतिनिधि र प्रहरीलाई यथाशीघ्र जानकारी दिन र राहत र प्रतिकार्यमा सघाउनसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।