• १९ असोज २०८१, शनिबार

बाढीले चुमनुब्रीमा दुई वटा काठे पुल बगायो

blog

चुमनुब्री गाउँपालिका– ७ छेकेम्पारमा काठे पुल बनेको क्षेत्र ।

गुणबहादुर रोका 

सुलीकोट, असार २२ गते। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पार स्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ। शुक्रबारदेखि परेको वर्षाले गोरखा जिल्लाका विभिन्न ठाउँमा सामान्य क्षति भएता पनि चुमनुब्रीको – ७ छेकम्पारमा भने ठुलो क्षति पुर्याएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। 

उहाँका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका ७०० जना जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पारेको उहाँले बताउनुभयो। 

त्यसैगरी चुमनुब्री–७ लामागाउँबाट बुढीगण्डकी पुग्ने सियार खोलाको झलुङगे पुलको दुवै साइडको भूभाग बाढीले बगाएपछि झलुङगे पुल जोखिममा परेको गाउँपालिकाको अध्यक्ष लामाको भनाइ छ। चुमनुब्री गाउँपालिकामा दुई दिनदेखि परेको वर्षाले सबै भन्दा छेकेम्पारलाई बढी असर गरेको छ। 

निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्री बासीलाई सचेतना गराउने काम गरिरहेको छ। साथै गाउँपालिका भित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले शुक्रबार सूचना समेत जारी गरेको छ।