• १९ असोज २०८१, शनिबार

अपर तामाकोसी जलविद्युत उत्पादन बन्द

blog

वर्षाका कारण बगेको सडक ।

सुजन काफ्ले

चरीकोट, असार २२ गते । गएरातिदेखि अविरल वर्षासँगै तामाकोसी नदीमा बाढी आएपछि शुक्रबार रातिदेखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

बाढीले खोला किनारका थुप्रै भागहरू कटान गरेको छ । उत्तरी भेगमा अत्यधिक वर्षात भइरहेको र स्थानीय बासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

तामाकोसी नदीमा बाढी पस्दा मध्यरातबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजना बन्द गरिएको छ । गए राति १ बजेबाट प्लान्ट बन्द गरिएको आयोजनाका प्लान्ट प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले जानकारी दिनुभयो । 


नदीमा पानीको मात्रा २ सय ८५ घनमिटर प्रतिसेकेन्ड पुगेपछि जोखिम बढेर प्लान्ट बन्द गरिएको उहाँको भनाइ छ । गत वर्ष २ सय घनमिटर प्रतिसेकेन्ड सतह पुग्दा समेत आयोजना बन्द गरिएको थिएन । बेलुकासम्म प्लान्ट सञ्चालन गरिने आयोजनाले जनाएको छ । 

आयोजनाले बाँधका सबै ढोका खोलेको छ । आयोजनाको प्रवेश सडकका कतिपय स्थानमा स–साना पहिरो खसेका छन् । उत्तरी केन्द्र सिंगटी बजारमा अत्यधिक वर्षातले जनजीवन अस्तव्यस्त बनाएको छ ।